रेडक्रस बाँकेको नयाँ कार्यसमिति चयन, कोहलपुरलाई उत्कृष्ट सेवा पुरस्कार

डुडुवा । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४१ औं जिल्ला सभाको अधिवेशन शुक्रवार डुडुवा गाउँपालिकामा सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेद्रकुमार चौधरीले रेडक्रस अभियानले विपद् व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताउनुभयो । जहाँ विपती त्यहाँ रेडक्रस पुग्ने गरेको उदाहरण दिँदै अभियान थप प्रभावकारी बनाउन अनुरोध गर्नुभयो ।

नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पालिकाहरुको विपद् व्यवस्थापनको क्षमता अभिबृद्धिमा रेडक्रसको सहयोग प्राप्त भइरहेको बताउँदै बाँके जिल्लाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी वीपिन आचार्यले समुदायस्तरसम्म रेडक्रसको सक्रिय सहभागिता भएकाले नेपाल सरकारको अभियानमा सहयोग पुगेको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले ५६ वर्ष देखि समुदायसंग नजिकबाट सहकार्य गर्दै सबै तहका सरकारसंग प्रत्येक्ष समन्वय गर्दै आएको जानकारी गराउनुभयो ।

रेडक्रस बाँकेको तर्फबाट बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शाखाका मन्त्री अजीज अहमद सिद्धिकीले वर्षभरीमा २ लाख २९ हजार ८ सय ६५ व्यक्तिहरु प्रत्येक्ष लाभावन्ति भएको तथ्यांकगत विवरण पेश गर्नुभएको थियो ।

रेडक्रस बाँकेका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले आर्थिक वर्ष २०७८/२०७९ बार्षिक रु २ करोड ४२ लाख ३४ हजार ४५२ रुपैया खर्च भएको आर्थिक प्रतिवेदन र आगामी आर्थिक वर्ष २०८०/२०८१ को रु ३ करोड ५२ लाख २२ हजार ३७४ को प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो ।४१ औं जिल्ला सभाको अधिवेशनमा १७ वटा उपशाखामध्ये बार्षिक कार्यसम्पादन मुल्यांकनको आधारमा नेरेसो कोहलपुर उपशाखालाई उत्कृष्ट सेवा पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी रक्तसंचार सेवाको प्रवद्र्धन एवं प्राविधिक विषयमा उल्लेख्य योगदान पु¥याउनु भएका भेरी अस्पतालका प्रमुख कन्सल्टेण्ट फिजिसियन डा.राजन पाण्डे र रेडक्रस अभियानको प्रचारप्रसार कार्यमा उल्लेखनीय योगदान पु¥याउने नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्दलाई सम्मान गरिएको छ ।

रेडक्रस बेतहनी उपशाखाका सभापति सोहनलाल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरक्षा निकाय, नेरेसो लुम्बिनी प्रदेश महासचिव नवराज ढुङ्गाना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नयाँ कार्यसमिति
अधिवेशनबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन समेत भएको छ । अधिवेशनबाट सभापतिमा पुनः गोवर्धन सिंह सम्झना निर्वाचित हुनुभएको छ । उपसभापतिमा शान्ति श्रेष्ठ र सुरेन्द्रनाथ सापकोटा, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तेजबहादुर सुवेदी, उपकोषाध्यक्षमा दुखीराम लोनिया निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा अजीतकुमार शर्मा, सनतकुमार रेग्मी, राजकुमार वर्मा, नरेन्द्र कुमार पौडेल, यज्ञनारायण शर्मा, यमनारायण महतो, मीन बहादुर मल्ल, महिला सदस्यमा सिता शर्मा पोख्रेल, खागेश्वरी रावत र सरिता देवी ज्ञवाली निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकारी ढुङ्गानाले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

Previous articleचोरी भएका मोटरसाईकल र साईकलसहित नेपालगञ्जबाट चार जना पक्राउ
Next articleबाँकेमा म्याद सकिएका पाँच हजार बढी ग्यास सिलिण्डर फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here