
नेपालगन्ज । आफूले उत्पादन गरेको गहुँ, धान, तोरी लगायतको समान सदरमुकाम नेपालगंजमा ल्याएर बिक्री गर्न खोज्द बाँके प्रहरीले कम्दी पुलबाट नियन्त्रणमा लिएर भन्सारलाई बुझाउने गरेको भन्दै नरैनापुरका स्थानीयहरु आक्रोसित बनेका छन् ।
सोमबार स्थानीय किसानहरु नरैनापुर गाँउपालिकामा घेरा हालेपछि गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहसंगै किसानहरु नेपालगंज आएर प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरुसंग छलफल गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्नमा रोक नलगाउन आग्रह गर्दै भारतबाट तस्करी गरी यदि ल्याइएको हो भने सिमामा मै नियन्त्रण गर्न आग्रह गरेका थिए ।
स्थानीय कृषक मुबारक अली शेखले आफूहरुले उत्पादन गरेको धान, गहुँ बिक्रीका लागि नेपालगंज पुग्नै लाग्द पक्राउ गर्ने प्रहरीहरुले यदि तस्करी कै समान हो भने सिमामा किन पक्राउ गर्दैन ? आफूहरुले उत्पादन गरेको गहुँलगायतका खाद्यवस्तुहरु आफनो देशमा बिक्री नगरेर कहाँ गर्ने ? भारतको सिमामा बसेका कारण हामी मधेशीहरुलाई कहिले सम्म सुरक्षाकर्मीहरुबाट पिडित हुनु पर्ने हो ? आफूहरु बिक्रीका लागि नेपालगंज ल्याएको गहुँलगायतका खाद्यवस्तु भारतीय हो भन्ने प्रमाणित गर्ने आधार के हो ? भन्दै प्रजिअ र सुरक्षा अधिकारीहरुसंग प्रश्न गर्नुभएकाे थियाे ।
यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले सहकारी दर्ता गरेर स्थानीय स्तरमा उत्पादन भएको सामान बिक्री बितरण गर्न सुझाव दिनुभएकाे छ । प्रजिअ आचार्यले स्थानीय उत्पादनलाई बजारसम्म ल्याउन समस्या नरहेपनि सहरकारी मार्फत कारोबार गरे अझ राम्रो हुने भएकोले कानुनको अधिनमा रही कारोबार गर्न सुझाव दिँदै दर्ता गर्न १० दिन जति समय लाग्ने भएकोले सो अवधीसम्म प्रहरीले स्थानीय उत्पादनमा कुनै अवरोध नगर्ने अश्वासन दिनुभएकाे छ ।
यस्तै नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले किसानलाई बिभिन्न बहनामा दुख दिन नहुने बताउँदै उहाँले भारतबाट यदि तस्करी भईरहेको छ भने सिमामा कडाई गर्न प्रजिअलाई सुझाव दिनुभयाे ।
अध्यक्ष शाहले स्थानीय उत्पादनलाई आफनै नेपालमा बिक्री गर्न रोक लगाउनु चिन्ताको विषय भएको बताउँदै बाँके प्रशासनलाई जनताप्रति गम्भीर बन्न आग्रह गर्नुभयाे । अध्यक्ष शाहले स्थानीय स्तरमा कृषि प्रवद्र्धनका लागि ऐन, नीति, निर्देशिकाहरू तयार पार्ने, कृषिमा निजी क्षेत्रको लगानी बढाउन निजी क्षेत्रमैत्री नीति बनाउने, निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्न र साझेदारी गर्न सार्वजनिक-निजी-साझेदारी संयन्त्र बनाउने र संयन्त्रमार्फत कृषि उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा अवरोधहरू हटाउन र प्रमुख उत्पादन क्षेत्रहरू जोड्न पहल गर्ने बताउनुभएकाे थियाे ।
बाँके प्रहरी प्रमुख सन्तोष सिंह राठोरले किसान आफैले उत्पादन गरेको गहुँलगायतका खाद्यवस्तुहरु विक्रीका लागि बजार आउने गरेको कुरा आफनो लागि नौलो भएको बताउनुभयाे । उहाँले कानुनको अधिनमा रही बिक्री गर्न सुझाव दिनुभयाे ।
यस्तै नेपालगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जमुनाहा नाकाबाट करोडौ मूल्यको समान दैनिक रुपमा नेपाल भित्रिदा प्रहरीले नियन्त्रण गर्न नसक्ने तर स्थानीय उत्पादन बजारसम्म पुग्न लाग्द भारतबाट तस्करी गरेर ल्याएको भनी मुद्दा चलाउने प्रहरी र भन्सारको नियत ठिक नभएको भन्दै स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउनका लागि सहयोग आग्रह गर्नुभयाे ।
भारतबाट यदि तस्करी भईरहेको हाे भने सिमामा मै नियन्त्रण गर्न र छोटी भन्सारहरु स्थापना गर्नतर्फ भूमिका खेल्न सुझाव दिनुभयाे ।
नरैनापुरका स्थानीय कृषकहरुसंगै अधिकारकर्मी एंव अधिवक्ता विश्वजीत तिवारी, बल बहादुर चन्द, आलम खान, लगायत पत्रकारहरुको सहभागितामा छलफल भएको थियो ।
छलफलमा बाँके प्रहरी उपरिक्षक राठोर, सशस्त्र प्रहरी प्रमुख रमेश बिक्रम शाही, राजश्व अनुसन्धानका प्रमुख सुरेश राज जोशी, आन्तरिक राजश्व कार्यालय बाँकेका प्रमुख सुदिश कुमार आर्याल, अनुसन्धान विभागका प्रहरी उपरिक्षक मोहन कुमार लगायतको सहभागिता रहेको थियो ।





