प्रधानमन्त्री प्रचण्डको जिम्मामा १६ वटा मन्त्रालय

काठमाण्डौ । नेकपा एमालेका मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालय पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैँसँग राख्नुभएको छ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका तीन मन्त्री र एक राज्यमन्त्री तथा राप्रपाले छाडेका तीन मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी आफैँसँग राख्नुभएका प्रधानमन्त्री प्रचण्डले एमालेका आठ मन्त्रीले छाडेका मन्त्रालय पनि आफैँसँग राख्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार थप आठ वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोक्नुभएको हो ।

एमालेले छाडेपछि अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई आएको हो ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राप्रपाले छाडेका ऊर्जा, सहरी विकास र कानुन मन्त्रालय पनि प्रचण्डकै जिम्मामा छन् ।

प्रधानमन्त्री प्रचण्डले गएको माघ ३ गते मन्त्रिपरिषद् विस्तार गर्दा वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय आफैँसँग राख्नुभएको थियो ।

ती मन्त्रालयसहित अहिले प्रधानमन्त्री प्रचण्डसँग १६ वटा मन्त्रालय भएका छन् । अहिले सरकारमा माओवादी केन्द्र र जनमत पार्टीका मन्त्रीमात्रै बाँकी रहेका छन् ।

Previous articleविकासमा सबैले सहकार्य गरी बढ्नुपर्छ : मन्त्री केसी
Next article१९ वर्षमुनिको एसिया छनोटमा नेपालको सानदार जित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here