विकासमा सबैले सहकार्य गरी बढ्नुपर्छ : मन्त्री केसी

खजुरा । लुम्बिनी प्रदेश सरकारकी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना)ले विकासमा कसैले राजनीति गर्न नहुने बताउनुभएको छ ।

खजुराको सैनिकमा सोमबार ४१ औं मगर संघ स्थापना दिवस तथा मगर एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री केसीले विकासमा राजनीति नभएर सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘विकासमा राजनीति होइन, सबैको सहकार्य अहिलेको आवश्यकता हो’ उहाँले भन्नुभयो, ‘म पनि जुनसुकै राजनीतिक दलमा रहेपनि विकासमा राजनीति गर्दैन । विकासका काममा सबैसँग समन्वय र सहकार्य गर्छु ।’

जिल्लाकै अर्को स्थानबाट निर्वाचन जितेपनि खजुरा क्षेत्रको विकासमा आफुले पहल गर्ने मन्त्री केसीले प्रतिवद्धता जनाउनुभयो । ‘खजुरा क्षेत्र मेरो राजनीतिको आधारभूमी समेत हो । मैले खजुराबाट नै राजनीति सुरु गरेकी हुँ’ उहाँले भन्नुभयो, ‘खजुरा क्षेत्रको बारेमा म जानकार छु । स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर यहाँको विकासको लागि पहल गर्छु ।’

आफु अहिले केही गर्नसक्ने स्थानमा पुगेको भन्दै मन्त्री केसीले खजुरासहित बाँकेको लागि आफुले गर्नसक्ने भूमिका निभाउन तयार रहेको बताउनुभयो ।

‘अहिले म केही भएपनि गर्नसक्ने ठाउँमा पुगेकी छु । सबैको सहकार्यमा म काम गर्छु’ उहाँले भन्नुभयो, ‘खजुराको स्थानीय सरकारले गर्न नसक्ने काम प्रदेशबाट गर्न तयार छु । प्रदेशबाट पनि हुन नसक्ने कामको समन्वय संघीय सरकारसँग गरेर गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।’

अर्को प्रसंगमा मन्त्री नमुनाले नेपालमा अहिलेको व्यवस्था परिवर्तनमा मगर समुदायको समेत महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

‘नेपालमा विभिन्न कालखण्डमा भएका व्यवस्था परिवर्तनमा मगर समुदायको भूमिका हामीले बिर्सन हुँदैन’ उहाँले भन्नुभयो, ‘प्रजातन्त्रदेखि गणतन्त्र आउँदासम्म उहाँहरुको भूमिका धैरे छ ।’

नेपालमा मात्र नभएर विदेशी भूमीमा समेत मगर समुदायको आफ्नै प्रतिष्ठा रहेको मन्त्री केसीले दाबी गर्नुभयो ।

Previous articleखजुरा गाउँपालिकामा नेपाली कांग्रेसले बुझायो ज्ञापन पत्र
Next articleप्रधानमन्त्री प्रचण्डको जिम्मामा १६ वटा मन्त्रालय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here