
काठमाण्डौं । अफ्रिकी मुलुक युगान्डाकी महिलालाई काठमाडौं ल्याएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले यौन व्यवसायमा लगाएको आरोपमा युगान्डाकै अर्की महिलालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो । नताशा भनिने एमाकुलेट नाबासुम्बालाई ब्युरोले पक्राउ गरेको हो ।
एसपी पंगेनीका अनुसार उनले एक जना युगान्डाकी महिलालाई पर्यटक भिसामा नेपाल बोलाएकी थिइन् । उनीहरू पुराना साथी हुन् । नेपालमा क्लिनर, वेट्रेस लगायतको काम गर्दा ५०० अमेरिकी डलर कमाइ हुने, हवाई टिकट, भिसा लगायतको खर्चसमेत कमाएर तिर्न सक्ने भनेर उनले ती महिलालाई काठमाडौं बोलाइन् ।
‘उनीहरू युगान्डाका पुरानै साथी हुन् । नजिककै साथीलाई नेपाल बोलाउन सजिलो हुने भएर उनलाई बोलाइएको थियो,’ एसपी पंगेनीले भन्नुभयो । नताशाले फकाएपछि पीडित महिला गत जनवरी २८ मा नेपाल आइपुगेकी थिइन् ।
नताशा भने २०२२ डिसेम्बर ८ मै आएर ठमेलस्थित होटल जर्नी होम प्रालिमा बस्न थालेकी थिइन् । नेपालमा झिकाएर उनले पीडितलाई आफू बस्दै गरेको होटलमा ल्याएर नेपाली तथा भारतीय मुलका व्यक्तिसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेको एसपी पंगेनीले बताउनुभयो ।
उक्त काम नगरे परिवारलाई नै मार्ने धम्कीसमेत दिएको प्रहरीले जनाएको छ । यसरी दिनकै ५-७ जनासँग शारिरिक सम्पर्क गर्न लगाउने गरेको आरोप उनीमाथि छ । यसरी यौन व्यवसायमा लगाएपछि एक हप्तापछि पीडित बिरामी परेकी थिइन् ।
बिरामी परेपछि उनी होटलबाट निस्केर युगान्डा फर्किने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि पुगिन् । तर नताशाले उनको हवाई टिकट रद्द गरिदिइन् । टिकट रद्द गरेपछि पीडित मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेकी थिइन् ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम हदैसम्म कारबाही गरी पाउँ भन्दै जाहेरी दिएकी थिइन् । जाहेरी परेकै दिन प्रहरीले नताशालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । उनीमाथि थप अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आरोपी व्यक्ति आफैंपनि यौन व्यवसायमा संलग्न रहेको र ग्राहकको व्यवस्था पनि आफैंले गर्दै आएको देखिएको छ । ग्राहक सम्पर्कमा नआएका बेला ठमेलका विभिन्न नाइट क्लबबाट ग्राहक खोजी गर्ने गरेको पाइएको एसपी पंगेनीले बताउनुभयो ।
एक जना पीडितमात्रै प्रहरीको सम्पर्कमा आएको हुँदा अन्य महिलालाई पनि नेपाल झिकाएर यस व्यवसायमा लगाएको हुनसक्ने प्रहरीको अनुमान छ । पीडितलाई यौन व्यवसायमा लगाएर पाउने गरेको रकम पनि उनी आफैंले लिने गरेको पनि अनुसन्धानबाट देखिएको छ ।
उनले प्रतिव्यक्ति ४ देखि ५ हजार रुपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ । यसमा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने प्रहरीको आशंका छ । होटलकै सञ्चालकको समेत संलग्नता छ/छैन भन्नेबारे अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ ।





