
नेपालगञ्ज । खोप लगाउन छुटेका बालबालिकाहरुको खोजी गरी खोप प्रदान गरिने भएको छ । पूर्ण खोप सुनिश्चित रहेको पालिकामा पछिल्लो समयमा दादुरा रुबेला संक्रमण फैलिएपछि सो बिरुद्ध खोप अभियान सञ्चालन गरिएको थियो ।
सो अभियानमा खोप लगाउन छुटेका बालकालिकाहरुको खोजी गरिने भएको हो । त्यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाका वडाहरुमा कार्यशाला भइरहेका छन् । आज वडा नम्बर १३ मा कार्यशाला गोष्ठी गरिएको छ ।
त्यसक्रममा राष्ट्रिय खोप कार्यक्रम, पूर्ण खोप सुनिश्चिताको लागि योजना तयारी तथा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको परिचालनको लाागि पूर्ण खोप निर्देशिकाबारे अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमार्फत गाउँ टोलहरुमा बालबालिकाहरुको खोजी अभियान शुरु गर्न योजना निर्माण गरिएको छ ।
घरधुरी सर्वेक्षणका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ । योजना अनुसार खोप समन्वय समितिको सहकार्यमा यही फागुन २५ गते सुक्ष्म योजना निर्माण गरी पठाउने, ३० गते घरधुरी सर्वेक्षण गर्ने, पालिकाबाट वडा पूर्ण खोप प्राथमिकीकरण, चैत्र १५ गतेसम्म लक्ष्यको बिश्लेषण तथा छुटेका बालबालिकाहरुलाई खोप प्रदान गर्ने र बैशाख २० गते पालिकालाई प्राथमिकीकरणका लागि पत्राचार गर्ने योजना बनाइएको छ ।
युनिसेफका टिएस तथ्यांक व्यवस्थापन अधिकृत नविन सुबेदीले राष्ट्रिय खोप कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । अभिमुखीकरणमा वडा नं १३ का वडा अध्यक्ष सुरेश सिंह ठाकुर, वडा सदस्यहरु, बिद्यालय व्यवस्थापन समिति उदयपुरका अध्यक्ष प्रदिप मिश्रा, स्वास्थ्य चौकी उदयपुरका प्रमुख बीरजंग शाह, उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक राजन शाही, तेज बहादुर वली, राजबीर बर्नवाल, वडा नं १३ का वडा सचिव रामकुमार पौडल लगायतकोे उपस्थिति रहेको थियो ।
हालसम्म बिश्वमा बिकासित भएको खोपहरुको प्रयोगमार्फत प्रत्येक वर्ष २५ लाख बालबालिकाहरु जेगिने गरेका छन् भने खोपको प्रभावकारी प्रयोग हुने हो भने अझै २० लाख बालबालिकाहरुलाई जोगाउन सकिने युनिसेफको तथ्याँक छ ।





