
नेपालगञ्ज । द्धन्द्ध पिडित महिला तथा प्रभावित महिलाको अवस्था र चुनौतीमा स्थानीय सरकारको भूमिका बिषयक सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस तथा होलीको अवसरमा द्धन्द्धपिडित महिला राष्ट्रिय सञ्जालले सरोकारवालासंग सोमबार नेपालगञ्जमा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला कानून तथा सहकारी मन्त्री कृष्णा केसीले सरकारका तर्फबाट आफुले गर्नुपर्ने कामहरु गर्न तयार रहेको बताउनुभएको छ । ‘मेरो बहस, प्रदेश सरकारबाट गर्न सक्ने काम गर्न म पछि हट्ने छ्रैन्,’ मन्त्री केसीले भन्नुभयो ।
द्धन्द्धपिडितको समस्याभन्दा आफु बाहिर नभएको भन्दै भएका समस्याहरु लिपिबद्ध भएमा काम गर्न सहयोग पुग्ने बताउनुभयो । बिभिन्न आन्दोलन पार गर्दै यहाँसम्म अहिलेको अवस्था ल्याउन बलिदान दिनेप्रति सम्मान गनुृपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य मीना कुमारी श्रेष्ठले प्रदेशबाट कसरी द्धन्द्धपिडितहरुलाई सहभागि गराएर अगाडी बढाउने, कसरी समस्या समाधान गर्ने कुराहरुमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता तथा नेपालगञ्जका पूर्व मेयर बिजय गुप्ता, नेपालगञ्ज उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख शोभा शाह लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा एकआपसमा होली खेलेर शुभकामना साटासाट गरिएको थियो ।





