
नेपालगन्ज । बाँकेकाे कोहलपुर नगरपालिका १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा च्याम्पियन बन्न सफल भएको छ ।
नेपालगन्जमा आइतबार सम्पन्न प्रतियोगिताको अन्तिम दिन कोहलपुरले २१ स्वर्ण पदक, २२ रजत र २९ कास्य पदक जित्दैं प्रथम स्थान हासिल गरेको हो ।
बाँके जिल्ला जिल्ला खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगन्जले आयोजना गरेको प्रतियोगिता फागुनको २६ देखि सुरु भएको थियो । जसमा डुडुवा गाउँपालिका बाहेक बाँके जिल्लाका सात वटा स्थानीय तहले भाग लिएका थिए ।
प्रतियोगितामा राप्तीसोनारी गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा राप्तीसोनारीका खेलाडीले १२ स्वर्ण, १२ रजत र ८ कास्य पदक जित्न सफल भएका थिए ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिकाले तेस्रो स्थान हासिल गरेको छ । नेपालगन्जले ६ स्वर्ण पदक, ९ रजत र ७ कास्य पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको हो ।
प्रतियोगितामा बैजनाथ गाउँपालिकाले ६ स्वर्ण, ३ रजत ८ कास्य पदक सहित चौथो, ४ स्वर्ण, २ रजत र ९ कास्य सहित खजुरा पाँचौं, १ स्वर्ण सहित नरैनापुर छैठाैं र ३ कास्य पदकसहित जानकी गाउँपालिकाले सातौं स्थान हासिल गरेको छ ।
प्रतियोगितामा ५० स्वर्ण, ४८ रजत र ६४ कास्य पदकका लागि सात स्थानीय तहबाट छनोट भएर आएका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा एथ्लेटिक्स तर्फ नेपालगन्ज उप- महानगरपालिकाका राहुल सुनार र नेपालगन्जकै चमेली चौधरी, भलिबलमा ब्राइटल्यान्डका मनिष पुन र सरस्वती मावि राप्तीसोनारीकी निकिता कुमारी थारु, कबड्डीमा जनता मावि खजराका साहवदिन बेहना र ज्ञानोदय मावि खजुराकी आशु क्षेत्रीले सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जित्न सफल हुनुभएकाे हाे ।
आइतबार एक समारोहकाबिच आयोजक बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिप जंग शाहको अध्यक्षतामा भएको कार्यक्रममा विजयी खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो ।
समापन समारोहको प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी ‘नमुना’, लुम्बिनी प्रदेशका पुर्व मन्त्री एवम् ओलम्पियन सुरेन्द्र हमाल, लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष नरेन्द्र थापा, नेपालगन्ज उप-महानगरपालिका मेयर प्रशान्त विष्ट, कोहलपुर नगरपालिका मेयर पुर्ण प्रसाद आर्चाय, बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आर्चाय, खजुरा गाउँपालिका उपाध्यक्ष मज मल्ल बैजनाथ गाउँपालिका प्रमुख जिल्ला अधिकारी बिपिन आर्चाय, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल अधिकारी, बाँके जिल्ला भलिबल संघका निर्वतमान अध्यक्ष टिएस ठकुरी लगायतले पुरस्कार वितरण गर्नुभएकाे थियाे ।





