ब्रिनोज कान स्वास्थ्य संस्थाबिरुद्ध प्रशासनमा उजुरी

नेपालगञ्ज । नेपालगञ्जमा क्रियाशिल ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नामक संस्थामा विवाद सृजना भएको छ । संस्थाको आन्तरिक विवाद जिल्ला प्रशासन कार्यालय बाँकेसम्म पुगेको हो ।

संस्था बिद्यान बिपरित सञ्चालन भएको, संस्थाभित्र चरम अनियमितता रहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा फाल्गुण १५ गते उजुरी दर्ता भएको छ । संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत पुरन बहादुर थारुले संस्थाका अध्यक्ष लगायतलाई बिपक्षी बनाउँदै जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दर्ता गर्नुभएको छ ।

संस्थाको बिषयमा प्रशासन कार्यालयमा उजुरी दर्ता भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिनुभयो । उजुरीमा संस्था बिद्यान बिपरित सञ्चालन भईरहेको, संस्थामा चरम अनियमितता, मनोमानी रहेको उल्लेख छ ।

उच्च प्रतिबद्धताका साथ संस्थाको गरिमालाई उचो पार्नका लागि अहोरात्र खटिरहँदा समेत आफुलाई बिद्यान, ऐन, नियम बिपरित हटाउन संस्थाको कार्यसमिति लागेको जानकारी गराउँदै छानविन गरि दोषीलाई कारवाही गर्न थारुले माग गर्नुभएको छ ।

२०५७ सालमा फत्तेवाल आँखा अस्पतालबाट समुदायमा आधारित कान स्वास्थ्य कार्यक्रम ब्रिटेन नेपाल अटोलोजि सर्भिसको सहयोगमा बाँकेका तत्कालिन ५ गाविसका लागि शुरुवात भएको उक्त संस्थामा शुरुवातको समय देखिनै पुरन स्वास्थ्य सहायकको रुपमा कार्यरत रहनुभएको थियो ।

२०५८ सालदेखि २०६४ सालसम्म नेपाल रेडक्रस सोसाईटीको अन्धोपन तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम अन्तर्गत सञ्चालन भएको उक्त सेवालाई २०६५ सालमा पुरन लगायतकै पहलमा कान स्वास्थ्य सम्वन्धि जनचेतनामुलक कार्य गर्ने, प्राथमिक श्रवण पुर्नस्थापना सेवा प्रदान गर्ने लगायतका उद्धेश्य राखि स्थापना भएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा २०६५ चैत्र ७ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएको थियो ।

आफु लगायतको अथक मेहेनतबाट ब्रिटेन नेपाल अटोलोजि सर्भिसको सहयोगमा सन् २०१३ सालमा सिलान्यास भई २०१५ सालमा संस्थाको भवन नेपालगञ्जको फुल्टेक्रामा निर्माण भएको, फत्तेवाल आँखा अस्पातलबाट सेवा प्रवाह भईरहेकोमा २०१६ सालदेखि आफ्नै भवनबाट सेवा शुरु भएको थारुले निबेदनमा उल्लेख गर्नुभएको छ ।

संस्थाले शुरुवातदेखि हालसम्म लाखौं बिरामीहरुलाई सेवा प्रदान गरेको, सम्पूर्ण सेवा प्रवाहमा आफुले महत्वपूर्ण भुमिका निर्वाह गरेको, संस्थाको छबि उच्च पार्नका लागि आफु स्थापना हुनु पूर्व देखि नै सक्रिय रहेको, संस्थालाई अन्तराष्ट्रिय स्तरबाट सहयोग जुटाउनदेखि सामाजिक रुपमा स्थापित गर्न, बाँके, बर्दिया, सुर्खेत र दैलेखमा सेवा बिस्तार तथा बिभिन्न जिल्लाहरुमा शिविरहरु सञ्चालन गर्न अहोरात्र खटिएको, नेपालको पहिलो कान सहायकको रुपमा कार्य शुरु गरि हालसम्म उक्त संस्थामा रहेर कार्य गरिरहेको उल्लेख गर्दै थारुले संस्था स्थापना हुनु पूर्व देखि नै उक्त कार्यक्रमको व्यवस्थापकिय प्रमुखको रुपमा कार्यरत रहँदै आएको, संस्था स्थापना भईसके पश्चात संस्थाबाट कान स्वास्थ्य अधिकृतको रुपमा नियुक्त भएको, सन् २०१६ देखि प्रमुख कार्यकारी पदको रुपमा नियुक्त भएको र सोही बमोजिम आफुले संस्थाको सम्पूर्ण व्यवस्थापिकय प्रमुखको रुपमा कार्य गर्दै आएको उहाँले निबेदनमा उल्लेख गर्नुभएको छ ।

संस्थाको बिधान २०६५ बमोजिम संस्था सञ्चालनमा नआएको, बार्षिक रुपमा साधारण सभा नगर्ने गरेको, नबिकरणका लागि कागजी रुपमा साधारण सभा गर्ने गरिएको, स्थापना कालदेखि हालसम्म एउटै कार्यसमिति रहेको, संस्थामा साधारण सदस्यता कसैलाई नदिएको, बिधान बमोजिम कुनैपनि ऐन, नियमावलीहरु नबनाएको, संस्थाको नाममा रहेको एल्बुलेन्स संस्थाका अध्यक्षले चरम रुपमा व्यक्तिगत कामका लागि प्रयोग गरेको लगायतका बिषयहरुमा आवाज उठाई संस्थाभित्र आन्तरिक सुशासन कायम गर्नका लागि पहल गर्दा उल्टै आफुलाई संस्थाबाट हटाउने षड्यन्त्र भईरहेको उल्लेख गर्दै थारुले आफुलाई न्याय प्रदान गर्न प्रशासनसंग माग गर्नुभएको छ ।

कुनैपनि आरोप लाग्दा आरोप प्रमाणित नभईकन कोही, कसैलाई कारवाही गर्न नहुने कुरा जगजाहेर रहेको अवस्थामा मिति २०७९ माघ १६ गते मलाई एका एक बिद्यान, श्रम ऐन, मानव अधिकारको बिश्वव्यापी घोषणा पत्र बिपरित कपोलकल्पित आरोप लगाई निलम्वन गरिएको पत्र आफुलाई गुण्डागर्दी शैलीमा बुझाई जवरजस्ती कार्यकक्षको साँचो मागिएको, २०७९ माघ १७ गतेदेखि आफुलाई कार्यालय जानबाट रोक लगाईएको छ, निवेदनमा उल्लेख छ ।

Previous articleएमविविएसमा नाम निकालेका आचार्यलाई आदर्शको सम्मान
Next articleसदस्यहरुको क्षमता अभिबृद्धि गर्न पिन नेपालगञ्जद्धारा तालिम प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here