वैदेशिक रोजगारीमा जान एक महिनामै ६२ हजारले लिए श्रम स्वीकृति

काठमाण्डौ । सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाए पनि गएको फागुन महिनामा मात्रै वैदेशिक रोजगारीमा जानका लागि झण्डै ६२ हजार जनाले श्रम स्वीकृति लिएका छन् ।

फागुनमा नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार आठ सय ४५ ले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै ३६ हजार ९९४ ले पहिलो पटक विदेश जान श्रम स्वीकृति लिएका छन् । जसमध्ये महिलाको सङ्ख्या ३ हजार ४२५ रहेको छ । फागुनमा सबैभन्दा बढी मलेसियाका लागि १९ हजार आठ सय २४ ले श्रम स्वीकृति लिएका छन् ।

कतारका लागि ११ हजार तीन सय तीन, संयुक्त अरब इमिरेट्सका लागि नौ हजार सात सय ९५, साउदी अरेबियाका लागि नौ हजार पाँच सय तीन, कुवेतका लागि दुई हजार चार सय ६२, दक्षिण कोरियाका लागि दुई हजार दुई सय २७ र रोमानियका लागि एक हजार ७० जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेमा अदक्ष कामदारको सङ्ख्या उल्लेख्य रहेको छ । फागुनमा १३ हजार पाँच सय ८० अदक्ष कामदारले श्रम स्वीकृति लिएका छन् ।

४२ हजार सात सय १८ दक्ष, पाँच हजार चार सय ४९ अर्धदक्ष, ६८ व्यावसायिक र ३० उच्च दक्ष श्रमिकले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

Previous articleमहिला साफ च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित
Next articleट्याक्टर दुर्घटना हुँदा २ जनाका मृत्यु, २८ जना घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here