
नेपालगञ्ज । बाँकेका मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार कम हुन थालेको छ । बैंकहरुले व्यापारीमाथि लगाएको चर्को ब्याजका कारण बाँकेको मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार व्यवसाय उत्साहजनक नभएको हो ।
कोरोनाले थलिएको नेपालगञ्जको व्यापार व्यवसाय फेरि बैंकहरुले व्यवसायीमाथि लगाएको चर्को ब्याज र खुला सीमानाका कारण न्युन हुँदै गएको हो ।
भारतीय बजार रुपैडिहासँग जोडिएको नेपालगञ्जको व्यापारले प्रतिष्पर्धा गर्न त धौधौ छ नै त्यसमा पनि हरेक सामग्रीको नेपाली मूल्य भन्दा भारतीय बजारको मूल्य केही कम भएका कारण नेपालगञ्जको व्यापार कम हुँदै गएको व्यापारीहरुले बताए ।
आर्थिक संकट बढ्दै गएका बेला सरकारले चासो नदिएको व्यापारीहरुको आरोप छ । आर्थिक मन्दीमा पनि सरकारले आवश्यक चासो नदेखाउँदा व्यापार धराशायी भएको व्यापारी सुनिल गुप्ताले बताउनुभयो ।
उहाँले अनलाईन व्यापार र सरकारको नीतिकै कारण व्यापार न्युन हुँदै गएको भन्दै विगतका वर्षमा व्यापारको तुलनामा यो वर्ष व्यापार नभएपछि समय काट्न पनि समस्या भएको बताउनुभयो ।
खुला सीमा र भारतीय बजारबाट क्यारिङ गरेर मालवस्तु नेपाल भित्र्याउने चलनले नेपालगञ्ज र कोहलपुरको व्यापारमा कमी आएको नेपालगञ्जकी महिला व्यवसायी माया खड्काले बताउनुभयो ।
उहाँले अहिलेसम्म धेरै नै घाटा भइसकेको भन्दै सिमानामा कडाई गर्नुपर्ने माग गर्नुहुन्छ । आर्थिक संकट बढ्दै जानु र व्यापारीहरुलाई एलसी सिस्टमबाट गएर सामान आयात गर्नुपर्ने झन्झटले गर्दा नेपालगञ्जको व्यापारको स्थिति निकै कमजोर हुँदै गएको उहाँहरुको गुनासो छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले नेपालगञ्जको व्यापार व्यवसाय अत्यन्तै कम हुँदै गएको बताउनुभयो । उहाँले नेपालगञ्जको व्यापार कम हुनुमा बैंकहरुले व्यवसायीहरुबाट चर्को ब्याज लिनु र विकास निमार्णका कार्यहरु ठप्प हुनु रहेको बताउनुभयो ।
कर्जामा बैंकहरुले एक्कासी दोब्बरले ब्याज नबढाएर सहुलियत दरमा ब्याज लागाइनुपर्ने र अनलाइन व्यापार, खुला सिमानामा सरकारले कडाई गर्नुपर्ने व्यापारीहरुको माग छ । साभार रातोपाटी





