
नेपालगञ्ज । नेकपा (एमाले) पार्टी पोलिटव्यूरो सदस्य एवम युवा विभाग इन्चार्ज महेश बस्नेतले समग्र युवा आन्दोलनको समिक्षा गर्दै युवालाई सामाजिक रुपान्तरण गर्न महाधिवेशनले मार्गनिर्देशन गर्ने बताउनुभएको छ ।
“रचनात्मक, सिर्जनशिल र नवीनतम काम गर्दै आईरहेको युवा संघ नेपाल बाघ संगठन हो”, उहाँले भन्नुभयो, “महाधिवेशनमा समसामयिक राजनीति र युवा आन्दोलनमा भ्रष्टिकरण र अपराधीकरणलाई परास्त गर्दै अवको कार्यदिशाको गम्भीर समिक्षा हुनेछ । युवा आन्दोलनमा अराजकतावादी तत्वको प्रभाव पर्न दिईनेछैन ।”
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा भएको महाधिवेशन उद्घाटन समारोहमा पार्टी पोलिटव्यूरो सदस्य, निरुदेवी पाल, केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सूर्य ढकाल, अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतले बोल्नु भएको थियो ।
संघका महासचिव क्षितिज थेवेले सञ्चालन गरेको कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेललाई रु एक लाख राशीको केपी ओली प्रतिभा पुरस्कार र ट्रफी प्रदान गरिएको थियो ।
उद्घाटन समारोहमा कलाकारहरु अस्मिता अधिकारी, बद्री पंगेनी, विश्व नेपाली र प्रकाश तिमिल्सेनाले सांगीतिक प्रस्तुति राख्नुभएको थियो ।





