नेपालका सन्त ‘दीन दयालजी महाराज’ लाई भारतमा सम्मान

नेपालगन्ज । नेपालका प्रसिद्ध महात्मा सन्तश्री दीन दयालजी महाराजलाई भारतको नयाँ दिल्लीमा सम्मान गरिएको छ । उहाँलाई भारतको प्रसिद्ध धार्मिक प्रतिष्ठान पशुपति अखाडाद्वारा “धर्माचार्य” पदबाट विभूषित गरी हालै सम्मान गरिएको हो ।

उहाँलाई विशेष धार्मिक कार्यक्रममा प्रदान गरिएको सम्मान पत्रमा बाल्यकालदेखि नै नेपालभित्र र अन्य मुलुकमा पनि सनातन धर्मको श्रीवृद्धि र उन्नयनका लागि निरन्तर सेवारत सन्तश्री दीन दयाल प्रतिष्ठानका संस्थापक तथा संरक्षक सन्तश्री दीन दयालजी महाराज वैदिक ऋषि परम्परा, सनातन धर्म, सनातन संस्कृति र पश्चिम नेपालको नेपालगन्ज खजुरामा स्थापित क्यान्सर अस्पतालका संकल्पकर्ता तथा संरक्षक लगायत अनेकौं मठ मन्दिरका समेत संरक्षक रही सेवा गर्नु भएको उल्लेख गरिएको छ ।

सो सम्मानमा उहाँको हिन्दू धर्मप्रतिको अथाह निष्ठा तथा मानव सेवाको कदर गर्दै “धर्माचार्य” को पदबाट विभूषित गरिएको भन्ने उल्लेख गरिएको छ । साथै आगामी दिनमा पनि सनातन वैदिक धर्मको प्रचार प्रसार र वैदिक परम्परालाई विश्वभर विशेष पहिचान दिलाउन राष्ट्र र समाजलाई मार्गदर्शन हुने विश्वास गरिएको छ ।

सम्मान पत्रमा पशुपति अखाडाका संयोजक अनन्तश्री विभूषित श्री अर्मतानुभव पीठाधिश्वर जगताचार्य व्रम्हर्षि श्री गौरी शंकाराचार्य महाराज, आचार्य महामण्डलेश्वर श्री १००८ श्री सच्चिदानन्द पशुपतिजी महाराज, अखडाका सचिव योगऋषि स्वामी श्री सदानन्द पशुपतिजी महाराज र श्रीमद् पशुपति विद्वत् परिषद्का अन्तर्राष्ट्रिय अध्यक्ष श्री सञ्जेल पशुपतिजी महाराजले हस्ताक्षर गर्नुभएको छ ।

उल्लेखनीय छ, उहाँकै संकल्पमा विशेषगरि आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित यस क्षेत्रका गरीब, असहाय, पिछडिएका निमुखा जनतालाई स्वास्थ्य सेवा सुलभ ढड्डबाट उपलब्ध गराउने उद्देश्यले पश्चिम नेपालमै पहिलो “क्यान्सर अस्पताल’ निर्माण गरी सञ्चालन गरिएको छ ।

उक्त अस्पतालमा पश्चिम नेपाल अन्तर्गत बाँके बर्दिया जिल्ला मात्र होइन भारतीय सिमावर्ती स्वास्थ्य सेवाबाट बञ्चित जनताको लागि समेत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले खजुरा (पुरानो विमानस्थल) स्थित ४ बिगाहा क्षेत्रफलको जमीनमा ५ हजार स्क्वायर मिटर क्षेत्रफलमा निर्मित उक्त अस्पतालको लागि “पवित्र आध्यात्मिक चिन्तनबाट भौतिक विकास सम्भव हुने तथा आध्यात्मिक चिन्तन र भौतिक विकासबाट मानव जातिलाई वास्तविक सुख र शान्ति प्राप्त हुने” विश्वासबाट अभिप्रेरित भई अस्पताल निर्माण कार्यमा सहयोग जुटाउने उद्देश्यले २०६५ माघ ११ गतेदेखि १९ गतेसम्म “श्रीमद्भागवत् वृहद् धन धान्याञ्चल ज्ञान महायज्ञ”को आयोजना गरिएको थियो ।

गत महिना मात्र खजुरा क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउने, खजुरा क्षेत्रमा रहेका ऐतिहासिक धार्मिक स्थलहरुको प्रवद्र्धन गर्ने र खजुरामा विशाल स्वरुपमा सुदर्शन चक्र सहितको लक्ष्मीनारायण मूर्तिको स्थापना गर्ने लक्ष्य सहित सन्तश्री दीनदयालको संरक्षकत्वमा श्रीमद् भागवत महायज्ञ आयोजना गरिएको थियो । सो महायज्ञको समापनमा सन्तश्री दीनदयालजी सहित कथा वाचक अर्याललाई खजुराबासीको तर्फबाट अभिनन्दन गरिएको थियो ।

यसैगरी नेपाल भारत र अन्य मुलुकमा पनि सनातन हिन्दू धर्मको प्रचार प्रसार र प्रवद्र्धन गर्ने अभियानमा समर्पित सन्तश्री दीनदयालजीलाई नेपाल भारत लगायत जापान, हङकङ लगायतका विदेशी मुलुकमा पनि उहाँलाई सम्मान गरिएको थियो । उहाँका अनुयायीहरुले उहाँको नाममा काठमाडौं, चितवन, नवलपरासी, पूर्वाञ्चलका विभिन्न ठाउँ र भारतका विभिन्न शहरमा “सन्तश्री दीन दयाल आध्यात्मिक प्रतिष्ठान” स्थापना गरिएका छन् ।

Previous articleफिलिपिन्स र अमेरिकाको संयुक्त सैन्य अभ्यास सुरु
Next article३५ जनाद्धारा रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here