
नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा नेपालकै ठुलो राष्ट्रिय झण्डा राखिने भएको छ । बैशाख १ गते नेपालगञ्जमा आयोजना गरिएको राष्ट्रिय झण्डा दिवसलाई सम्बोधन गर्दै नेपालगञ्जका मेयर प्रशान्त बिष्टले नेपालकै ठुलो झण्डा राख्ने प्रतिबद्धता जनाउनुभएको हो ।
रामलिला मैदानमा शुक्रबार बेलुका आयोजित आठौं राष्ट्रिय झण्डा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै बिष्टले यस्तो प्रतिवद्धता जनाउनुभएको छ ।
स्वस्फुर्तरुपमा आठ वर्षदेखि बाँकेमा राष्ट्रिय झण्डा दिवस मनाउँदै आइएको छ । नेपालको पहिचान राष्ट्रिय झण्डाले गराइरहेको भन्दै मेयर विष्टले झण्डामा रहेको चिन्ह प्रकृतिसँग जोडिएको बताउनुभयो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद माया पुनले आफुले प्रदेशसभा बैठकमा यो कुरा राख्ने बताउनुभयो । उहाँले सरकारी स्तरबाट नै यो दिवस मनाउनुपर्ने भन्ने कुरामा आफ्नो जोड रहने बताउनुभयो ।






