
बाँके । बिल नम्बर उल्लेख नगरी जारी गर्ने नेपालगञ्जस्थित एक औषधी पसललाई कारवाहीका लागि सिफारिस गरिएको छ ।
संयुतm बजार अनुगमन टोली गरेको अनुगमनका क्रममा मेडिकलले औषधी बेच्दा बिल नम्बर उल्लेख नगरी जारी गरेको पाइएकोले भवानी कालिका फर्मालाई आवश्यक कारवाहीका लागि सम्बन्धित ठाउँमा सिफारिस गरिएको हो ।
औषधी पसलहरुको अनुगमन गर्ने क्रममा सोमबार बिल नं। उल्लेख नगरी बिल जारी गर्ने एक औषधी पसललाई आवश्यक कारवाहीक लागि सिफारिस गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईले जानकारी दिनुभयो ।
त्यस्तै डाक्टरको पुर्जा बिनै औषधी बिक्रि गर्ने अर्को एक औषधी पसललाई औषधी व्यवस्था बिभागको कार्यालय, नेपालगञ्जमा पठाएको छ । यस्तै व्यवसाय नविकरण नगरेको दुई वटा औषधी पसललाई तीन दिनभित्र नविकरण गरेको कागजात कार्यालयमा पेश गर्न अनुगमन टोलीले निर्देशन दिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको नेतृत्व तथा औषधी व्यवस्था बिभाग शाखा कार्यालय बाँके, जिल्ला प्रशासन, नेपालगञ्ज उपमहानगरपालिकाको सहभागितामा अनुगमन गरिएको हो ।






