पेस्तोलसहित वडाअध्यक्ष पक्राउ

रोल्पा । रोल्पाका एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ परेका छन् । गंगादेव गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ३३ वर्षीय कृष्ण वली अटोमेटिक पेस्तोलसहित पक्राउ पर्नुभएको हो ।

वडाध्यक्षले आफ्नो घरमा अवैध हतियार लुकाएको गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले खानतलासी गर्दा घरको माथिल्लो तलामा लुकाएर राखेको अवस्थामा स्वचालित पेस्तोल बरामद भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले जानकारी दिनुभयो ।

मेड इन इटाली लेखिएको नौ राउन्ड गोली लाग्ने एक थान पेस्तोल म्यागजिनसहित बरामद भएको छ । इलाका प्रहरी कार्यालय घर्ती गाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरी टोलीले दिउँसो १ बजेतिर वडाध्यक्षको घर खानतलासी गरेको थियो ।

पक्राउ परेका वलीविरूद्ध हातहतियार तथा खरखजना मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत रोल्पाले वडाध्यक्ष वलीलाई थप १४ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद थप गरेको छ ।

वडाध्यक्ष वलीविरूद्ध चैत ३० गते बेलुका ४ बजेको समयमा गंगादेव गाउँपालिकाका अध्यक्षले चढ्ने रा १ झ १९१ नम्बरको सरकारी गाडी तोडफोड गरेको अभियोग पनि छ ।

उक्त अभियोगमा प्रशासनले वलीविरूद्ध थप १५ दिन म्याद थप गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसुर (अभद्र) व्यवहार सम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको डिएसपी मगरले बताउनुभयो ।

Previous articleप्रबिधिमैत्री शिक्षणबिधी र प्रयोग सम्बन्धि तालिम सम्पन्न
Next articleसशस्त्र प्रहरीका सहायक हवल्दारद्धारा आफैंलाई गोली प्रहार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here