
बाँके । अनसनरत डा.गोबिन्द केसीको जीवन रक्षाका निम्ति वार्ता टोली गठन गरि अवस्था सामान्य बनाउनुपर्ने बाँकेका नागरिक समाजका अगुवाहरुले माग गरेका छन् । निरन्तरको अनसन बसाईका कारण डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । स्वास्थ्य, शिक्षा र सुशासनको बिषयमा हरदम जायज माग राख्दै नागरिकको हकहितका लागि आवाज उठाउँदै आउनुभएका डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि बाँकेका नागरिक समाजका अगुवाहरुले बुधबार बैठक बसि तत्काल बार्र्ता टोली गठन गरी अवस्था सामान्य बनाउन माग गरेका हुन ।
डा.केसी २४ दिन अघिदेखि जुम्लामा सत्याग्रह शुरु गरि हाल काठमान्डौको त्रिभुवन यूनिभर्सिटी टिचिङ्ग हस्पितलमा आमरण अनसन रहनुभएको छ । लगातारको अनसनका कारण हाल उहाँको स्वास्थ्यस्थिति गम्भीर बनेको छ । जनताको आवाजलाई सरकारसमक्ष पटक–पटक राख्दै आएका केसीको अवस्था बिग्रिएपनि सरकारले बेवास्ता गरिरहेको छ । प्रत्येक नेपाली जनताको जीवन रक्षा गर्नु राज्यको कर्तव्य र दायित्व भएको भन्दै डा.केसी आन्दोलनप्रति समाजले ऐक्यबद्धता समेत जनाएको छ ।
अधिवक्ता बिश्वजित तिवारी, नेपाल मानब अधिकार संगठनका प्रहलाद बहादुर कार्की, सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका बल बहादुर चन्द, मानब अधिकारकर्मी रबिन्द्र कुमार कर्ण, नागरिक अभियन्ता पूर्ण बहादुर खड्का, सूचना र मानब अधिकार अनुसन्धान केन्द्रका मान बहादुर चौधरी, टेकनाथ आचार्य तथा कुल राज चौधरी र जन एकता समाजका ध्रुवराज शर्माले बुधबार एक बिज्ञप्ति जारी गर्दै डा.केसीसंग जीवन नेपालीका लागि अमुल्य रहेको हुँदा हालको बिषम परिस्थिति र वर्तमान सरकारको अर्कमण्यता समेतलाई ख्याल राखी आफ्ना मागलाई थाँती राख्दै सत्याग्रह स्थगित गर्न समाजले आग्रह समेत गरेको छ ।





