
नेपालगन्ज । पुर्व राष्ट्रिय फुटबल खेलाडी विवेक जंग शाह (एमबीई) लाई बाँके जिल्ला फुटबल संघले सम्मान गरेको छ ।
शुक्रबार नेपालगन्जमा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, फुटबल प्रशिक्षक सानु तामाङ, रबिन्द्र श्रेष्ठ लगायतले शाहलाई सम्मान गर्नुभएको थियो ।
उत्कृष्ट काम गर्नुभएका शाह बेलायती महारानीबाट सम्मानित समेत हुनुभएको थियो । नेपालगन्जबाट फुटबल करियर सुरु गर्नुभएका शाहले २०५४ सालमा नेपालको यु–१६ फुटबल टिम, नेपालगन्ज–११ टिम र अन्य विभिन्न क्लबबाट व्यवसायिक फुटबल खेल्नुभएको थियो ।
शाह अहिले बिट्रिस आर्मीमा क्याप्टेनका रुपमा कार्यरत हुनुहन्छ । शाहले भारतको बहराइचमा भएको स्टेट स्तरको फुटबल प्रतियोगितामा निर्णायक गोल गर्दै नेपालगन्ज–११ लाई उपाधि दिलाउनुभएको थियो ।
नेपालगन्ज उप–महानगरपालिका–४ देवाफुलबारीका शाहले सन् २००१ मा भएको तत्कालिन राजा विरेन्द्रको शुभजन्मोत्सवमा हुने बर्डे कपमा नेपालगन्ज–११ को तर्फबाट जावलाखेल फुटबल क्लबलाई हराएर क्वारटरफाइनलमा पुग्दा निर्णायक गोल गर्नुभएको थियो ।
नेपालगन्जलाई आधा दर्जन महत्वपुर्ण प्रतियोगितामा सफलता दिलाउने खेलाडीमा पर्नुहुन्छ शाह । फुटबल करियरमा बाँके जिल्लाको प्रतिष्ठालाई बढाउने काम गरेकोले यस क्षेत्रका लागि विवेक प्रतिष्ठित व्यक्ति भएको एन्फा केन्द्रिय सदस्य भोजराज शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयोे,‘विवेक बाँके जिल्लाको फुटबल इतिहासमा एउटा उदाहरणीय खेलाडी हुनुहुन्छ । उहाँले बेलायतमा गएर पनि आफनो देश र जिल्लालाई गर्व हुने सफलता हासिल गर्नुभएको छ । एउटा खेलाडीले यो स्तरमा सफलता प्राप्त गर्नु फुटबल परिवारका निम्ति गर्वको विषय हो ।’
शुक्रबार बाँके जिल्ला फुटबल संघका पदाधिकारी र पुर्व राष्ट्रिय खेलाडी शाहकाबिच बाँकेको फुटबल विकास गर्ने बारेमा छलफल भएको छ । नेपालगन्जमा आउँदा फुटबल संघका पदाधिकारीहरुसँग भेट्न पाउँदा खुसी लागेको शाहले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘यो न्यानो आतिथ्य र सम्मानका लागि बाँके जिल्ला फुटबल संघलाई धन्यवाद दिन चाहन्छु । फुटबल मलाई मन पर्ने खेल हो । यसको विकासका लागि म सक्दो सहयोग गर्छु । विशेष गरी नयाँ बालबालिकालाई फुटबल खेल्न प्रेरित गर्नुपर्छ । यस्तो अभियानमा संघले योजना बनाएको कुरा थाहा पाउँदा खुसी लाग्यो । फुटबलको विकासमा सबैको सहकार्य र समन्वय आवश्यक छ ।’
बाँके जिल्ला फुटबल संघले चौथो नेपालगन्ज गोल्ड कप र बालबालिकाहरुको लागि ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको छ । त्यसमा शाहले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
सम्मान कार्यक्रममा ब्रिटिस आर्मी समिर मल्ल, बाँके जिल्ला फुटबल संघका सदस्य ईश्वर चन्दको पनि उपस्थिति रहेको थियो ।





