नरैनापुरको सुरक्षाका बिषयमा सांसद केसी र प्रहरी प्रमुखसंग छलफल

बाँके । नरैनापुर क्षेत्रको सुरक्षामा चासो राख्दै लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना) ले सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको छ । सो क्षेत्रमा रहेका नेपाल र सशस्त्र प्रहरीका प्रमुखसंग उहाँले सुरक्षाबारे छलफल गर्नुभएको हो ।

स्थानीयको सुरक्षा, चोरी तस्करी नियन्त्रण, विपद् व्यवस्थापनको तयारी लगायतका विषयमा सांसद नमुनाले चासो राख्नुभएको थियो । पछिल्लो समय नरैनापुरबाट तस्करी बढिरहेको गुनासो आइरहेको भन्दै त्यसलाई तत्काल रोक्नुपर्नेमा जोड दिनुभयो ।

‘पहिलेको भन्दा यस क्षेत्रमा अहिले सुरक्षाकर्मीको उपस्थिति पनि धेरै छ । स्थानीयलाई भरपर्दो सुरक्षा दिनुका साथै चोरी तस्करी समेत रोक्नुपर्ने यहाँहरुको जिम्मेवारी हो’ उहाँले भन्नुभयो, ‘सरकारले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुहुन्छ भन्ने मैले अपेक्षा लिएकी छु ।’

सोही क्षेत्रबाट निर्वाचित सांसद नमुनाले सुरक्षाकर्मीलाई स्थानीयको सुरक्षा, चोरी तस्करी नियन्त्रणमा कडाई गर्न निर्देशन दिनुभयो । धेरै कुरामा भारतमा निर्भर रहेका नरैनापुरबासीलाई आवत जावतका क्रममा दुःख समेत नदिन उहाँले आग्रह गर्नुभयो ।

‘अहिले पनि सीमा क्षेत्र नरैनापुरका स्थानीयहरु किनमेलका लागि भारतीय बजारमा जाने चलन छ’ उहाँले भन्नुभयो, ‘सो क्रममा व्यवहारिक्ता समेत हेरेर सुरक्षाकर्मीहरुले यहाँका नागरिकलाई सहज बनाइदिनुहोला ।’

तस्करमा संग्लनलाई गरिने व्यवहार यहाँ स्थानीयलाई नगर्न समेत पूर्वमन्त्री समेत रहनुभएकी सांसद नमुनाले सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्नुभयो ।

‘तस्करी नियन्त्रण गर्नुहुन्न भन्ने पक्षमा म छैन । तस्करी नियन्त्रणमा कडा रुपमा प्रस्तुत हुनुहोला’ उहाँले भन्नुभयो, ‘तर यहाँका नागरिकलाई व्यवहारिक रुपमा हेरिदिनुपर्छ ।’

नरैनापुरमा उत्पादन भएका कृषि उपजलाई नेपालगन्ज लैजाँदा बाटोमा भारतबाट ल्याएको भन्दै नियन्त्रणमा लिइनु गलत भएको सांसद नमुनाले बताउनुभयो ।‘यहाँका जनताले उत्पादन गरेका कृषीजन्य बस्तुलाई बाटोमा भारतबाट ल्याएको भनेर नियन्त्रणमा लिनु राम्रो होइन’ उहाँले भन्नुभयो, ‘तस्करी नै गरेर ल्याइएको हो भने नाकामै नियन्त्रणमा लिएर कारबाही गर्नुहोला । कम्दीमा पक्राउ गरेर जनतालाई दुःख दिने काम नगरौं ।’

अर्को प्रसंगमा सांसद नमुनाले यहाँ रहेका प्रहरी कार्यालयहरुलाई क्रमश ः आफ्नै भवनमा सारिने बताउनुभयो । जनताको सुरक्षामा खटिने सुरक्षाकर्मी बस्ने भवन राम्रो हुनुपर्ने बताउँदै उहाँले त्यसका लागि पहल गरिएको जानकारी दिनुभयो ।

‘यहाँ रहेका सुरक्षाकर्मीका युनिटका भवन निर्माणको लागि पहल भइरहेको छ । केही भवनको लागि बजेट समेत आउँदो वर्ष हुन्छ’ सांसद नमुनाले भन्नुभयो, ‘अरु युनिटहरुका लागि क्रमश ः भवन बनाउँदै लैजाउनुपर्छ ।’

सो अवसरमा ईलाका प्रहरी कार्यालय भगवानपुरका ईन्चार्ज प्रहरी निरीक्षक राजन रायमाझीले सुरक्षामा कुनै सम्झौता हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

‘भाडाको घरमा बसेर पनि हामीले नागरिकलाई सुरक्षा, चोरी तस्करी नियन्त्रणमा काम गरिरहेका छौं’ उहाँले भन्नुभयो, ‘सकेसम्म स्थानीयबासीसँग सहकार्य समन्वय गरेर काम गर्ने हाम्रो प्रयास हुन्छ ।’

बोर्डर आउट पोष्ट (बिओपी) नरैनापुरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक चन्दले सीमा सुरक्षामा आफुहरु कटिबद्ध रहेको बताउनुभयो । चोरी तस्करी नियन्त्रणका साथै विपद् व्यवस्थापनका कामहरुमा आफुहरु खटिरहेको उहाँले जानकारी दिनुभयो ।

‘आफ्नो मातहत रहेका चार वटा बिओपीबाट सीमा क्षेत्रमा हामीले सुरक्षा प्रदान गरिरहेका छौं’ डीएसपी चन्दले भन्नुभयो, ‘सबैसँग सहकार्य गरेर काम गरिरहेका छौं ।’

Previous articleशिक्षकहरुका लागि स्टिम सम्बन्धी शिक्षण तालिम शुरु
Next articleपुर्व खेलाडी विवेक शाह गृह जिल्ला बाँकेमा सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here