
बहराईच । भारतमा हुन लागेको नगर निकायको निर्वाचनको सुरक्षा सवालका बिषयमा दुई देशका जिल्ला प्रमुखहरुबीच छलफल भएको छ ।
नेपाल र भारत संयुक्त सीमा समन्वय समितिको सीमा सुरक्षा बलको नेतृत्वमा निर्वाचन सुरक्षा शन्दर्भमा दुई देशका जिल्ला प्रमुखहरुबीच सोमबार छलफल भएको हो ।
बैठकमा बाँके र बर्दिया तथा भारतीय सीमा क्षेत्रका प्रहरी, वन, खाद्य एवं स्वास्थ्य क्षेत्रका पदाधिकारीसहितको बैठक बसेको थियो ।
बैठकमा बहराइचका जिल्ला अध्यक्ष डा.दिनेश चन्द्र पछिल्लो बैठकमा उठेका बिषयमाथि छलफल अगाडी बढाउनुभएको थियो । पछिल्लो बैठकमा उठेका बिषय तथा मुद्दामा दुबै देशतर्फ आवश्यक कारवाही भएको भन्दै सन्तुष्टि व्यक्त गर्नुभएको थियो ।
उहाँले भारतीय क्षेत्रमा हुन लागेको नगर निर्वाचनलाई निष्पक्ष एवं शान्तिपूर्ण ढंगले सम्पन्न गर्न बैठकको आयोजना गरिएको बताउनुभयो ।
बैठकमा डीएम श्रावस्ती नेहा प्रकाशले आवश्यक सुझाव दिनुभएको थियो । यस्तै पुलिस अधीक्षक प्रशान्त वर्माले बाँके र बर्दियाका प्रहरी अधिकारीहरुसंग सीमामा हुने आवांछनीय गतिविधिमाथि निगरानी बढाउन अनुरोध गर्नुभएको थियो ।
यसैगरी बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य तथा बर्दियाका प्रजिअ नरायण प्रसाद रिसालले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सक्रिय हुने बताउनुभएको थियो ।
बैठकमा बाँकेका प्रहरी प्रमुख एसपी संतोष सिंह राठौर तथा सशस्त्र प्रहरी बलका लक्ष्मन सिंह थापा, बर्दियाका एसपी सुधीर राज शाही, सशस्त्र प्रहरी बलका हर्क बहादुर शाही, एसएसबी तपन कुमार दास, प्रवीन कुमार, संदीप कुमार जेटली, पंकज किशोर, अपर पुलिस अधीक्षक ग्रामीण पवित्र मोहन त्रिपाठी, डीएफओ बहराइचका संजय शर्मा, कतर्नियाघाट आकाश दीप बधावन, श्रावस्ती डी.एन.सिंह लगायतको उपस्थिति रहेको थियो ।





