नरैनापुरमा विद्यालय नगएर शिक्षकले तलब लिएको खुलासा

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाका विद्यालय तथा मदरसामा आइतबार छडके चेकजाँच गर्ने क्रममा विद्यालयमा उपस्थिति नै नभई शिक्षकहरुले तलब लिएको पाइएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ का वडाअध्यक्ष एवम् शिक्षा अनुगमन तथा छानविन समितिका संयोजक कृष्ण चन्द्र मौर्यसहितको टोलीले विद्यालयको छडके अनुगमनका क्रममा विद्यालयमा शिक्षकको उपस्थिति नभएको, महिनौ दिनसम्म पनि विद्यालयमा उपस्थित नभई तलब लिएको, शिक्षकहरुले हप्तौ दिनसम्म हाजिरी नगरेको पाइएको हो ।

अनुगमनका क्रममा नरैनापुर वडा नम्बर ४ जयरामपूर्वामा रहेको श्री मदरसा अहले सुन्नत सैयदुल उलुमकी शिक्षिका जयमती बैजाली र खाजा व्यवस्थापक रामजी साहु वैशाख महिनामा एक दिनपनि मदरसा नआएको पाइएको छ । भने चैत महिनामा पनि शिक्षिका जयमती २ दिन र खाजा व्यवस्थापक रामजी एकदिन मात्रै मदरसा आएको देखिएको छ ।

अचम्म त उनीहरुले मदरसामा नआए पनि तलब भने पाइरहनुभएको छ । दुबै जना गाउँपालिकाले राहतमा खटाएका कर्मचारी हुनुहुन्छ । यस विषयमा मदरसाका प्रध्यानाध्यपक इब्राहिम खानले दुबै जनालाई बारम्बार सम्पर्क गर्दा पनि मदरसा नआउने गरेको बताउनुभयो ।‘उहाहरुलाई हामीले धेरैपटक फोन गरेका छौं । गाउँपालिकामा पनि निवेदन दिएका छौं । तर पनि उहाँहरु मदरसामा आउनु हुँदैन,’ प्रधानाध्यापक खानले भन्नुभयोे ,‘तर तलब भने उहाँहरुले पाइरहनु भएको छ ।’

त्यस्तै वडा नम्बर ५ को जमुनाहामा रहेको मदरसा गौसुलवरा जामिया अहिले सुन्नतमा अनुगमनका क्रममा संयोजक मौर्यसहितको टोली पुग्दा प्रध्यानाध्यापक नै भेटिएनन् भने शिक्षकहरुको हाजिरी रजिष्टर माग्दा आफूहरुलाई थाहा नभएको शिक्षकहरुले बताएका थिए ।

संयोजक मौर्यले दबाब दिएपछि मात्र शिक्षकहरुले हाजिरी रजिष्टर देखाएका थिए । तर उक्त हाजिरी रजिष्टरमा कुनैपनि शिक्षकले वैशाख महिनामा हाजिरी गरेको पाइएन । त्यस्तै मदरसामा कति विद्यार्थी अध्ययनरत छन् ? भने प्रश्न गर्दा कोही पनि शिक्षकले त्यसको उत्तर दिन सकेनन् ।

एकजना शिक्षकलाई किन हाजिरी नगर्नु भएको भनेर संयोजक मौर्यले प्रश्न गर्दा उनले नयाँ आर्थिक वर्षको हाजिरी रजिष्टर नै नबनाएको जवाफ दिए । यस्तै बेतिथि वडा नम्बर ४, जमुनाहामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पनि देखियो ।अनुगमनका क्रममा उक्त विद्यालयमा पनि प्रध्यानाध्यपक भेटिएनन् । कुनै कक्षा कोठामा शिक्षकको उपस्थिति नभएको पाइएको थियो । अचम्म त ३ जना शिक्षक÷शिक्षिकाले त एकैपटक आएको र गएको हाजिरी लगाएको पनि पाइयो भने केही कक्षामा विद्यार्थीको पनि हाजिरी नगरेको पाइयो । साथै धेरैजसो शिक्षकले हप्तौदिनदेखि हाजिरी नै नगरेको पनि पाइयो ।

यस विषयमा संयोजक मौर्यले प्रश्न गर्दा शिक्षक÷शिक्षिकाहरु नयाँ वर्ष भएको, कक्षा भर्खर सुरु भएको, कोही छुट्टीमा भएको जस्ता जवाफ दिएर समस्यालाई लुकाउने खोजे भने केही शिक्षकले अनुगमन कै क्रममा विद्यार्थी र स्वयं शिक्षक÷शिक्षिकाले हाजिरी गरे ।

सो अनुगमनका क्रममा सबै विद्यालय तथा मदरसामा केही न केही त्रुटी, समस्या देखिएको संयोजक मौर्यले बताउनुभयो । ‘यो पहिलो पटक हामीहरु यसरी छडके अनुमगनमा गएका हौं । त्यसैले सबै विद्यालय र मदरसालाई मौखिक चेतावनी दिएर आएका छौ,’ मौर्यले भन्नुभयो, ‘ अर्को पटक फेरि अनुमगनमा जाने छौं । यस्तै समस्या देखियो भने कारबाही गर्ने छौं ।’

Previous articleइ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्जमा आजदेखि ‘सचेतीकरण
Next articleहुलाकका प्रमुख पाण्डे नविन सोंच/इनोभेटिभ आइडिया प्रतिभा डबलीमा छनोट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here