
नेपालगन्ज । कैलाली निवासी कवि देवव्रतको बहुप्रतिक्षित कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ सार्वजनिक भएको छ ।
काठमाडौंको सर्वनाम थिएटरमा शनिबार कवि श्रवण मुकारुङ, निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले संग्रहको विमोचन गर्नुभयाे । कार्यक्रममा बोल्दै कवि मुकारुङले देवव्रतको कवितामा लयविधान भएको बताउनुभयाे ।
‘पछिल्लो पुस्तामा नयाँ शैली लेख्ने कविहरू छन् । त्यसमध्ये देवव्रत पुगेका छन् । यो संग्रहमा मैले असाध्यै इन्जोय गरेका कविता छन् । कतिपय कविता पढ्दा ईश्र्या पनि लाग्यो,’ उहाँले भन्नुभयाे, ’उहाँका प्रत्येक कविता पढ्दा संगीत गुनगुनाए जस्तो छ ।’
निबन्धकार सापकोटाले देवव्रतका कविता आज र भोलि जस्तै बिलाइ जाने पानीको थोपा जस्ता नभएको उहाँले बताउनुभयाे । ‘देवव्रतका कवितामा उसको उपस्थिति टाढाबाट देखिने गुलमोहर जस्तो छ,’ सापकोटाले भन्नुभयाे ।
देवव्रतका कवितामा हजारौं वर्षदेखिको पुरानो घाउ, मधेशका दलित र कर्णालीका आम मान्छेका जीवन समेटिएको बताउनुभयाे । लेखक वन्दनाले देवव्रतका कविताले अहिलेको चरम उपभोक्तावादी समय बोलेको बताउनुभयाे ।
‘उहाँका कविताले मृत्यु बोलेका छन् । आत्महत्या बोलेका छन् । चरम उपभोक्तावादी समय पनि बोलेको छ । कर्णालीमा भएको अभाव बोलेको छ,’ उहाँले भन्नुभयाे, ‘देवव्रतको कविताले भविष्यमा हस्तक्षेपकारी भूमिका खेल्छन् ।’
कार्यक्रममा देवव्रतले संग्रहको शीर्ष कविता वाचन गर्नुभएकाे थियाे । संग्रहलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो । पुस्तकको मूल्य दुई सय ९९ रुपैयाँ रहेको छ ।





