
नेपालगञ्ज । भ्रष्टाचार बिरुद्ध जागौं अभियान अन्तर्गत नेपालगञ्जमा भ्रष्टाचार बिरुद्ध खबरदारी सभा गरिएको छ । भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले नेपालगञ्जको बिपि चौकमा खबरदारी सभा गरेको हो ।
जिल्लाका विभिन्न निकाय तथा संघ संस्थाहरुका प्रतिनिधि, युवा, बिद्यार्थीहरुको स्वस्फूर्त सहभागिता रहेको कार्यक्रममा सहभागिहरुले नेपालमा फष्टाई रहेको भ्रष्टाचार र त्यसले देशलाई पारेको असरका बिषयमा बोलेका थिए ।
देशमा राजनीतिक नेतृत्व भ्रष्टाचारमा लिप्त हुनु र सरकारले भ्रष्टाचारीलाई कारवाही गर्न नसक्नुको परिणाम यस्तो समस्या सिर्जना भएको सहभागिहरुको भनाई थियो । खवरदारी सभामा बोल्दै बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले भ्रष्टहरुको कुनै पनि जात नहुने र भ्रष्टाचार रोग भएकाले रोगलाई जति पाल्यो उती नै गलाउदै लैजाने बताउनुभयो ।
सरकारले भ्रष्टाचारीलाई कुनैपनि हालतमा संरक्षण गर्न नहुने उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै गैसस महासंघका केन्द्रीय सदस्य तथा बासका कार्यकारी निर्देशक नमस्कार शाहले विश्व कै सुन्दर देश नेपाल भ्रष्टाचारीहरुका कारण विश्वमान चित्रमा बदनाम भएको बताउनुभयो ।
राजनीतिक नेतृत्व र सरकारको उदासिनताका कारण आम नागरिक भ्रष्टाचार बिरुद्ध सडकमा उत्रिनु परेको बताउनुभयो । नक्कली भूटानी सरणार्थी काण्डमा संलग्नहरुलाई कारवाही प्रक्रियामा ल्याउने राम्रो कार्य गरेको बताउँदै सरकारले त्यसलाई टुंगोमा पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
यसैगरी हरित अभियन्त हेमन्तराज काफ्लेले देश चलाउछु भन्दै सदनमा जानेहरुको कालो कर्तुत नेपाली जनताले थाहा पाईसकेको भन्दै भ्रष्टाचारीलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्नेमा उहाँको जोड थियो ।यसैगरी उद्यमी तथा ब्यवसायी दिला शाहले देशलाई लुटेर ब्यक्तिगत लाभ हासिल गर्ने बिरुद्ध सबै लाग्नुपर्ने बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै मानवअधिकारकर्मी आलम खानले भ्रष्टाचारी जो कोहीलाई पनि सरकारले निर्मम कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।





