मानवसेवा आश्रम संचालन गर्न नेपालगन्जमा मुठ्ठीदान संकलन

नेपालगञ्ज । मानवसेवा आश्रम संचालन गर्न नेपालगन्जमा मुठ्ठीदान संकलन गरेको छ । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) सडकपेटी र सार्वजनिक स्थलहरुमा अत्यन्तै कष्टपुर्ण, दयनीय एवं पीडादायी जीवनयापन गर्न विवश सहयोगापेक्षी (बेवारिसे, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर) सडकआश्रित मानवहरुमा सेवा पुर्याउन नेपालगञ्जमा मुठ्ठीदान संकलन गरेको हो ।

सिंगो नेपाल राष्ट्रलाई नै सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने अभिष्ट राखी मानवसेवा आश्रमले सडक मानवहरुको मानवोचित व्यवस्थापनका लागि २०७९ बैशाख १ गतेबाट नेपालगञ्जको आदर्शनगरमा घर भाँडामा लिएर मानव सेवा आश्रम सञ्चालन गरेको छ ।

हाल मानवसेवा आश्रम नेपालगंज शाखामा ५० जना बढी बेसहाराहरु आश्रममा आश्रित छन् । ५ जना महिला, ३ जना बालबालिका र ४५ जना पुरुष जसमा १ वर्ष कि बालिका देखि ८० वर्ष भन्दा माथि उमेरको रहेको आश्रमले जनाएको छ । जसमध्ये ४० जना मनोसामाजिक समस्याबाट ग्रसित रहेको उनीहरुले नियमित औषधी सेवन गर्दै आएका छन् ।

मानवसेवा आश्रमको मुख्य सेवा आम्दानीको श्रोत भनेको नै मुठ्ठीदान नै हो । आश्रमले स्थापनाको समयदेख नै दातृ निकायहरुको सर्त सहितको सहयोग स्वीकार नगर्ने आदर्शलाई आत्मसाथ गर्दै सेवा सञ्चालन गर्दै आइरहेको छ ।

सहयोगी दाताहरुले जन्मदिन, विवाह बर्षगाँठ, संस्थाको बार्षिकोत्सव, ब्रतबन्ध, छोराछोरीको न्वारन, पास्नी, विभिन्न चाडपर्वहरुमा खुसीयाली मनाउन साथै पितृहरुको सम्झना भोजन गराउन र स्वेच्छिक सहयोग गर्न पुग्ने परोपकारी दाताहरुको सहयोगमा संस्था सञ्चालनमा छ ।तर देशको आर्थिक अवस्था वा जनमानसलाई नेपालगंज शाखाको सेवाको बारेमा जानकारी कम भएकाले सहयोगी दाताहरु आश्रममा पुग्ने क्रम घट्दो रुपमा रहेको छ । जसको सिधा असर आश्रितहरुमा नपरोस भनेर स्थापनाको समयदेख नै दातृ निकायहरुको सर्त सहितको सहयोग स्वीकार नगर्ने आदर्शलाई आत्मसाथ गर्दै सेवा सञ्चालन गर्न नेपालगंजका घर घर तथा पसल पसलमा मुठ्ठीदान संकलन गर्न शुरु गरेको मानवसेवा आश्रम नेपालगंज बाँके शाखाका संयोजक उर्विन सापकोटाले जानकारी दिनुभयो ।

मुठ्ठीदान संकलन गर्ने क्रममा सेवा संचालनको लागि नगद ११ हजार ४ सय १५ रुपैयाका साथै चामल, बिस्कुट, केहि थान महिलाहरुले लगाउने कपडा र चप्पल लगायतका सामग्रीहरु स्वतस्फुर्त आश्रमले प्राप्त गरेको थियो ।

मुठ्ठीदान संकलन गर्नको लागि मानवसेवा आश्रमका युवा स्वयंसेवीहरु चिरन्जीवी बुढा, दिपिका देवकोटा, सुवास सिजापति, प्रकृति थापा, अस्मिता देउवा, साही खान र छत्र सुनारको टोलीले सघाएको थियो ।

आश्रमको सेवामा रहने अभियन्ता, साधक साधिका भने स्वयंसेकको रुपमा २४ घण्टा नै समर्पित छन् । केही प्राविधिक कर्मचारीहरु, स्वास्थ्यकर्मी, सुरक्षा गार्डहरु भने आवश्यकताको आधारमा केही पारिश्रमिक लिएर २४ घण्टा नै आश्रमको सेवामा खट्नुभएको आश्रमले जनाएको छ ।

Previous articleभ्रष्टाचार बिरुद्ध नेपालगञ्जमा खबरदारी सभा
Next articleचार दिनपछि परिवारले बुझे सुत्केरीको शव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here