
नेपागञ्ज । बाँकेका जानकी गाउँपालिकाका युवा, बालबालिका तथा किशोर किशोरीले योजना तर्जुमा सम्बन्धि छलफल गरि आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रमहरु तयार गरि गाउँपालिकासमक्ष १५ बुँदे सुझाव पेश गरेका छन् ।
बी–ग्रुप बाँकेको आयोजनामा बाँकेमा संचालित किशोर किशोरी प्रजनन स्वास्थ्य परियोजनाको सहयोग, जानकी गाउँपालिकासँगको सहकार्य र जिल्ला युवा क्लब सञ्जाल बाँकेको सहजीकरणमा योजना तर्जुमामाथि छलफल गर्दै युवाहरुले कार्यक्रम तयार गरेर मंगलबार गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी समक्ष १५ बुँदे सुझाव पेश गरेका हुन् ।
जिल्ला बाल क्लब संजालका सदस्य सन्तोष रानाका अनुसार बाल विवाहका बिरुद्धका कार्यक्रम, किशोरीहरुको प्रजनन् स्वास्थ्यका लागि कार्यक्रम, छात्राहरुका लागि निःशुल्क स्यानेटरी प्याड, शैक्षिक गुणस्तरका लागि शिक्षक तथा विद्यालय व्यवस्थापन समितिलाई तालिम, स्वास्थ्य संस्थामा सहज र मैत्रीपूर्ण वातावरण सिर्जना लगायतका सुझाव कार्यक्रमहरु दिइएको छ ।
यस्तै युवा सूचना केन्द्र, कृषि व्यवसायका लागि बीउ, विजन, औजार तथा तालिमको व्यवस्था, पालिकामा नियमित खेलकुद प्रतियोगिता, मानव बेचविखनविरुद्धका अभियान, छात्रवृत्ति कोषको स्थापना लगायतका कार्यक्रमहरु जानकीले गर्नुपर्ने युवाहरुले प्रस्तुत गरेको सुझाव पत्रमा उल्लेख छ । कार्यक्रमको सहजिकरण जिल्ला युवा क्लब संजाल बाँकेका अध्यक्ष आशिष बर्माले गर्नुभएको थियो ।





