पार्टीमा शुद्धिकरण आवश्यक : नेता डा.रिजाल

कोहलपुर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.मिनेन्द्र रिजालले पार्टीमा शुद्धिकरण आवश्यक रहेको बताउनुभएकाे छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेको प्रथम क्षेत्रीय सम्मेलनको आज कोहलपुरमा उद्घाटन गर्दै उहाँले तलदेखि माथिसम्म शुद्धिकरण गरेर जानुपर्ने आवश्यकता रहेको बताउनुभयाे ।

“पार्टी अब नयाँ ढंगले चल्नुपर्दछ, परम्परागत हिसाबले हुँदैन, जनआकांक्षालाई बुझेर अघि नबढे दुर्घटना हुन्छ,” डा.रिजालले भन्नुभयाे- “नेतृत्वले सबै पक्षलाई मिलाएर लैजानुपर्दछ, सबैको भावनाको कदर गर्नुपर्दछ । केन्द्रिय सदस्य समेत रहेका पूर्व मन्त्री रिजालले संविधान कार्यान्वयनमा कांग्रेस गम्भीर हुनुपर्ने बताउभयाे ।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा एकले अर्कोलाई दोष लगाएर उँभो नलाग्ने बताउँदै सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयाे ।

पुनले नयाँ पुस्ताहरुले पनि भरोसा गर्न योग्य पार्टी बनाएर नयाँ र पुरानो पुस्तालाई जोडेर नवीन कांग्रेस बनाउनुपर्ने बताउनुभयाे । उहाँले नयाँ पार्टीहरुको परीक्षण बाँकी नै रहेकाले हतारमा आफ्नो सिद्धान्त र विचारलाई बन्धक बनाएर निर्णय नलिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयाे ।

क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न सम्मेलनलाई लुम्बिनी प्रदेश सह-महामन्त्री निमा गिरी, बाँकेका सभापति नारायणप्रसाद गौडेल, महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, निवर्तमान पार्टी सचिव एवम् राप्तीसानारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल लगायतले सम्बोधन गर्नुभएकाे थियाे ।

कार्यक्रममा प्रजातन्त्र सेनानी, सहिद परिवार, जनआन्दोलनका घाइते, जग्गादाता, पूर्व क्षेत्रीय सभापतिहरु र उत्कृष्ट वडा सभापतिहरुलाई सम्मान गरिएको क्षेत्र नम्बर १ का प्रबक्ता तुलाराम खत्रीले जानकारी दिनुभयाे ।

क्षेत्रीय सम्मेलनमा सचिव खुमबहादुर बस्नेतले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष ध्रुब आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । क्षेत्र नम्बर १ (ख) का सभापति बलराम शर्माले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव जयश्वर पौडेलले गर्नुभएकाे थियाे ।

Previous articleरक्तसञ्चार केन्द्रमा २७ जनाद्धारा रक्तदान
Next articleफेसबुक कम्पनी मेटामाथि पौने २ खर्ब जरिवाना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here