
काठमाडौंमा । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएकाे छ ।
राष्ट्रपति पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको हाे ।
‘नागरिकता विधेयक प्रमाणीकरण गर्न २०८०।०२।१२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लेखी आएकोमा नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत बमोजिम विधेयक प्रमाणीकरण गरेको छु,’ राष्ट्रपति पौडेलले भन्नुभएकाे छ ।
अघिल्लो संसदले २ पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो ।
अहिलेको सरकारले नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको थियो । गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो ।
राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकबारे राष्ट्रपति पौडेलले यसअघि कानून व्यवसायीहरूसँग छलफलसमेत गर्नुभएकाे थियाे ।





