
डुडुवा । डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान पनि शुरु गरेको छ । मानवको जीवन रक्षाका लागि सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान शुरु गरेको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
अध्यक्ष चौधरीले भन्नुभयो–“रगतको व्यवस्था गर्न दैनिक सेवाग्राहीको फोन आउछ, तर गाउँपालिकासंग रगत छैन, त्यसैले व्यवस्थापन कठिनाई भएपछि यो अभियान शुरु गरेको छु ।”
गाउँपालिकाले आज गरेको बृहत रक्तदान कार्यक्रममा एक सय २५ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजक कौशलकुमार कैरातीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, महिला, शिक्षक, विद्यार्थी, स्थानीय लगायतले रक्तदान गरेका थिए ।
रक्तसञ्चार केन्द्र ब्लड बैंक कोहलपुरका प्रमुख राजेन्द्र महतराको नेतृत्वमा ५ प्राविधिक, गाउँपलिकाका स्वास्थ्यकर्मी लगायतले सहयोग गर्नुभएको थियो । कार्यक्रममा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेका सल्लाहकारद्धय माधवराम बर्मा, पवन जायसवाल, सचिव भिष्म लोध, कोषाध्यक्ष मनमोहन बर्मालगायतले सहयोग गर्नुभएको थियो ।
गाउँपालिकाभित्र गरिब तथा असहायलगायतका विरामीहरुलाई रगतको व्यवस्थापनका लागि अब गाउँपालिकाले नियमित रुपमा बृहत रक्तदान कार्यक्रममार्फत रगत संकलन गर्नेछ । गाउँपलिकाको नवनिर्मित भवनमा रक्तदान कार्यक्रम गरिएको हो ।





