
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं ४ बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरणसंगै सबै बालबालिका बिद्यालयको पहुँचमा रहेको वडा घोषणा गरिएको छ ।
खजुरा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय सहकार्यमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालमार्फत शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै बिद्यालय भर्ना भएका नयाँ बालबालिकालाई शैक्षिक सामाग्री बितरणसंगै यस वडाका सबै बालबालिका बिद्यालयको पहुँचमा रहेको वडा घोषणा गरिएको हो ।
वडा नं ४ का वडा अध्यक्ष टेक बहादुर रोकाक्षेत्री, खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डे, कार्यसमिति सदस्य बबिता सिंह, बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतको उपस्थितिमा घोषणा गरिएको स्याकका सुपरभाईजर रज्जब अलि बागवानले जानकारी दिनुभयो ।
कक्षा १, २ र ३ कक्षाका बिद्यार्थीहरुलाई बिद्यालयको पहुँचमा ल्याउने प्रयास रहेको स्याकले जनाएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा खजुरामा संचालित सिकाई परियोजनामार्फत बिद्यालय तथा समग्र पालिकाको शैक्षिक गुणस्तर बृद्धिका लागि बिभिन्न गतिबिधि संचालन गरेको छ ।





