एबीसी बिद्यालयमा क्षयरोग सम्बन्धि अभिमुखीकरण

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं-४ गणेशपुरस्थित एविसी रेसिडेन्स सेकण्डरी स्कूलमा क्षयरोग सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी गरिएको छ ।

बिद्यालयको कक्षा १० का विद्यार्थीहरुका लागि नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाले शुक्रवार विद्यार्थीहरुका लागि एक दिने अभिमुखीकरण गोष्ठीको संचालन गरेको हो ।

गोष्ठीमा नेपाल क्षयरोग निवारण संस्था बाँकेका पूर्व अध्यक्ष पूर्णलाल चुकेले नेपालकै दोस्रो जेठो सामाजिक संस्थाको रुपमा २०११ सालमा दर्ता भएको उक्त संस्थाको केन्द्रीय कार्यालय र बाँके जिल्ला शाखाको परिचय, ऐतिहासिक पृष्टभूमिको चर्चा गर्दै क्रियाकलापहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँका अनुसार नेपालमा क्षयरोग सम्बन्धि उपचार गर्ने एक मात्र अस्पताल कालीमाटीमा रहेको तथा सोको सञ्चालन नेपाल क्षयरोग निवारण संस्थाले गरिरहेको छ । कालीमाटीस्थित संस्थाको आफ्नै भवनमा क्षयरोग र छातीसंग सम्बन्धित चेष्ट अस्पताल सञ्चालन गरिरहेको हो ।

अस्पतालमा संस्थाको आन्तरिक स्रोत र नेपाल सरकारको एकदमै न्यून सहयोग रहेको छ । त्यसैगरि २०३२ सालमा बाँके जिल्लामा स्थापना गरिएको उक्त संस्थाको शाखाले क्षयरोग सम्बन्धि विभिन्न किसिमका प्रतिकारात्मक, उपचारात्मक सेवा उपलब्ध गराउँदै क्षयरोग विरुद्ध जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको पनि चुकेले आफ्नो प्रस्तुतीको क्रममा उल्लेख गर्नुभयो ।

गोष्ठीको दोस्रो चरणमा संस्थाका केन्द्रीय सदस्य सेमराज शाक्यले क्षयरोगको परिचय, लक्षण, रोग लाग्न नदिने उपाय, रोग लागे पछि यसबाट बच्ने उपायहरुका बारेमा विस्तृत चर्चा गर्नुभयो । उहाँले पहिलेको समयमा क्षयरोगलाई महामरी रोगको रुपमा लिइन्थ्यो, रोग लागेपछि परिवार र समाजबाट टाढा राख्ने गरिन्थ्यो ।

तर अब विज्ञानका चमत्कार संगै नियमित औषधि सेवन गरेमा रोग सदाका लागि निको हुन सकिने पनि शाक्यले बताउनु भयो । शाक्यका अनुसार एक सातासम्म लगातार खोकी लागे, साँझ पख लगातार ज्वरो आउने, छाती दुख्ने, थकाई लाग्ने जस्ता लक्षण देखिएमा क्षयरोग हो भन्ने थाहा पाउनु पर्दछ ।

बाँके शाखाले आफ्नै भवनबाट निःशुल्क ल्याव सेवा, औषधी वितरण गर्दै आएको छ । शाखाका सभापति बदरुद्दीन अन्सारीको अध्यक्षतामा सम्पन्न सो गोष्ठीमा उक्त विद्यालयका ३६ जना छात्रछात्रा तथा शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा नेपाल क्षयरोग निवारण संस्था, बाँकेका सहसचिव रचना श्रेष्ठ, सदस्यहरु सुन्दरलाल शाक्य, सुश्री ज्ञानु श्रेष्ठ, जनकराम भण्डारी, पवन जायसवाल तथा विद्यालयका संस्थापक राजु ज्ञवाली, शिक्षिकहरुमा ज्योति वैश्य, विन्दू शर्मा, गिरिश चन्द्र वर्मा लगायतको सहभागिता रहेको थियो ।

Previous articleठुलो संख्यामा अवैध भारतीय कुखुरा नियन्त्रणमा, कारवाहीको माग गर्दै निवेदन दर्ता
Next articleखजुरा-४ का सबै बालबालिका बिद्यालयको पहुँचमा रहेको घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here