साउदी अरेबियामा ३ जनालाई मृत्युदण्ड

एजेन्सी । साउदी अरेबियाले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतवार आफ्ना तीन नागरिकलाई मृत्युदण्ड दिएको छ ।

एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन् जसमा २० जना आतङ्कवादसँग सम्बन्धित अपराधमा संलग्न छन् ।

साउदी अरेबियाको गृह मन्त्रालयले आइतवार एक विज्ञप्ति निकालेर तीनै जनाले राजधानी रियादमा एक अधिकारीको हत्या गरेको र उनको गाडीमा आगो लगाएर शव जलाएको जनाएको छ ।

उनीहरूलाई आतङ्कवादलाई आर्थिक सहयोग गरेको र हातहतियार, गोलाबारुद र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री राखेको अभियोगमा पनि दोषी ठहर गरिएको मन्त्रालयले जनाएको छ ।

अधिकारीहरूले आइतवार रियादमा मृत्युदण्डको सजाय सुनाएको मन्त्रालयले जनाएको छ । यस वर्ष ‘आतङ्कवाद’ का लागि सबैभन्दा बढी मृत्युदण्ड सुन्नी मुस्लिम राज्यको पूर्वी क्षेत्रमा भएको छ जहाँ शिया अल्पसङ्ख्यक समुदायको बाहुल्यता छ ।

गएको महिना साउदी अरेबियाले दुई जना बहराइनीलाई पनि आतङ्कवादसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिएको थियो । साउदी अरेबिया विश्वकै सबैभन्दा धेरै मृत्युदण्ड दिने देशमध्ये एक हो ।

गएको वर्ष साउदी अरेबियामा आतङ्कवादसँग सम्बन्धित अपराधमा एक सय ४७ जनालाई मृत्युदण्ड दिइएको थियो जसमध्ये ८१ जना एकै दिन मारिएका थिए । सामूहिक मृत्युदण्डको घटनाले अन्तर्राष्ट्रियस्तरमा आक्रोश उत्पन्न गरेको थियो ।

सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजार जनाभन्दा बढीलाई मृत्युदण्ड दिइएको बेलायतमा रहेको रिप्रिभ र युरोपियन साउदी अर्गनाइजेसन फर ह्युमन राइट्सले यसै वर्षको सुरुमा प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।

Previous articleअभिकर्ता पुर्नताजगी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न
Next articleसराेकारवालाद्वारा बालबिवाह न्युनिकरण परियोजनाकाे संयुक्त अनुगमन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here