
प्रहलाद विश्वकर्मा । तातो हावाको लहर सबै वर्ग समुहलाई हुने भएकोले जोखिमलाई कम गर्न जनचेतना अभिबृद्धि नै उत्तम उपाय हो । यसका लागि स्थानीय तह र सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने शिक्षकहरुले बताउन छन् ।
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका सामुदायिक र मदरसाहरुमा तातो हावा (लू) जोखिम न्यूनिकरण सम्बन्धित अभिमुखिकरणका क्रममा उक्त कुरामा जोड दिएका हुन । तापक्रम बृद्धि हुनसाथ नगरभित्रका विद्यालय बन्द भइ हाल विहानको समयमा संचालन भइरहेका छन् ।
तातो हावाको लहर (लु) को जोखिमबाट बच्न अहिले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले नगरभित्रका २० सामुदायिक विद्यालय र मदरसाहरुमा जनचेतनामुलक गतिविधि संचालन गरिरहेको कुरा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी बताउनु भएको छ । उहाँले देशकै सबभन्दा बढी गर्मी हुने शहर नेपालगंज हो यहाँ रेडक्रसले हिटवेभ सम्बन्धी नमुना कार्यक्रम संचालन गरिएको छ ।
अभिमुखीकरणका क्रममा तातो हावाको लहरले गर्दा हुने विरामीका संकेतहरु कसरी पहिचान गर्ने, बृद्धि मानिसहरुलाई अत्याधिक गर्मीबाट कसरी सुरक्षित राख्ने, गर्मीमा के के खानु पर्दछ, अत्याधिक गर्मीको जोखिम कसलाई हुन्छ, निर्माण कामदार र बालबालिकाहरुलाई अत्याधिक गर्मीबाट कसरी सुरक्षित राख्ने, तातो हावाको लहरबाट हुने मृत्युहरु रोकथाम र प्राथमिक उपचारको बारेमा जानकारी दिने गरिएको छ ।
गर्मीको समयमा तिर्खा नलागे पनि वेला वेलामा पानी पिईरहनुहोस् र शरीरमा पानीको मात्रा कम हुन नदिनु होस् । घरको चिसो भागमा सर्नु होस् वा बस्नु होस् । चिसो पानीले नुहाएर शितल हुनुहोस् वा आफैमा पानी छर्केर शितल गर्नु होस् । खुकुलो वा हल्का उज्यालो रंगको लुगा र सनहयाट लगाउनुहोस्, कफि र अल्कोहलयुक्त पेय पर्दाथहरू नपिउनुहोस । आफ्नो परिवार साथीहरू र छिमेकीहरूलाई सम्र्पक गर्नुहोस ।
यसैगरी विशेषगरी बृद्धव्यक्तिहरूलाई शरीरमा पानीको मात्रा कमी हुन नदिनुहोस् र शितलता सुनिशचित गर्नुहोस् । पार्क गरिएका बन्द सवारी साधनहरूमा परिवारका सदस्यहरूलाई नछोडनुहोस् । रूखको छाँया भएको ठाउँहरूमा आराम गर्नुहोस् । उच्च उर्जा खर्च हुने शरीरिक गतिविधिहरूलाई कम वा पूर्णरूपमा बन्द गर्नुहोस् ।
तातो हावाको उच्च समय बिहान ११ देखि दिउँसो ३ बजेसम्म सकभर घर बाहिर नजानुहोस् । यदि तपाई बाहिर काम गर्नुहुन्छ भने बरम्बार विश्राम लिनु होस् वा कामलाई दिनको शितल समयमा गर्नु सहजकर्ताहरुले जानकारी दिएका छन् ।
उक्त अभिमुखीकरणको सहजीकरण नेरेसो बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी, बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, लेखा अधिकृत झवीलाल शर्मा, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा र सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गरिरहनु भएको छ ।





