
नेपालगञ्ज । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । गाडी दुर्घटनामा घाइते मन्त्री सिंहको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार उहाँको उपचार गर्दा गर्दै मृत्यु भएको थियो । अन्य दुई जनाको उपचार भइरहेको र सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ ।
सिंह सवार गाडी दुर्घटना हुँदा घाइते भएका तीन जनालाई हेलिकप्टरमार्फत कोहलपुर ल्याइएको थियो । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो ।
बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा गाडी दुर्घटना हुँदा मन्त्री श्रीमती र भाउजूको मृत्यु भइसकेको छ । उहाँको निधनसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ ।





