
नेपालगञ्ज । मानिसमा इच्छा शक्ति भयो भने उ सहजै कुनै पनि काम गर्न सक्छ । हाम्रो समाजमा भनाई नै छ, मात्र चाहनुपर्यो, असम्भव केही छैन । हो यही भनाईलाई चरितार्थ गरिरहेका छन् नेपालगञ्जका केही युवाहरु । नेपालगञ्जका केही युवाहरुले इच्छा शक्तिसंगै सानो लगानीमा आफ्नो भविष्य खोज्न लागिरहेका छन् । गर्न नचाहनेहरुका लागि सानो सहयोग केही हुँदैन तर गर्न चाहनेहरुका लागि भने ठुलै सहयोग साबित भइदिन्छ ।
काम सानो तर परिवारको जिम्मेवारी ठुलो । जसलाई पुरा गर्ने जिम्मेवारी काँधमा बोकेका छन नेपालगञ्ज वडा नं-२१ का मुबारक अलि सिक्ली र कृष्णावती नाउँ, नेपालगञ्ज-१२ की रिता चिडिमार, जगतराम बर्मा र सुरेन्द्र चिडिमार । काँधमा भएको कर्तब्यलाई निर्वाह गर्न उहाँहरु सानो लगानीबाट नै बजारमा आफ्नो पाइला बढाएका छन् । केही महिनाअघि शुरु भएको उहाँहरुको पाइलाले सफलता पच्छ्याउन थालेको देखिन्छ ।
सिक्लीले नेपालगञ्ज वडा नं-६ मा टेलरिङ व्यवसाय शुरु गर्नुभएको छ । केही महिनाअघि मात्रै शुरु व्यवसायसंगै सिक्ली कहाँ दुई युवा सीप सिक्न पनि आउन थालेका छन् ।
हाल पहिलाजस्तो सेवाग्राही नआए पनि आफुले थालेको व्यवसायमा आफु खुशी रहेको सिक्ली बताउनुहुन्छ । अरुकहाँ काम गर्दा आफुले पाउने पारिश्रमिकभन्दा आफ्नै व्यवसायले त्यसको दोब्बर खुशी दिएको छ ।
भाडामा सटर लिएर संचालन गर्नुभएको व्यवसायले राम्रो प्रतिफल दिएको समेत उहाँले बताउनुभयो । व्यवसाय शुरु गरेको केही समयसंगै आएको आँटले ऋण लिएर मेसिन ल्याउने सोंच पनि बनाउनुभएको छ । उक्त मेसिनले व्यवसायमा थप सहयोग गर्ने बुझाई छ । यस्तै नाउँले पनि नेपालगञ्ज-६ मा व्यूटी पार्लर संचालन गर्नुभएको छ । करिब दुई वर्ष अरुको पसलमा काम गर्नुभएकी नाउँले सानो लगानीबाट आफ्नै व्यवसाय शुरु गर्न सकेमा खुशी हुनुहुन्छ ।
‘पहिला दुई वर्ष अरुकोमा काम गर्न जान्थे, सोचेको जस्तो हुँदैन,’ नाउँले भन्नुभयो, ‘सात आठ हजार पाउने पारिश्रमिकले गाह्रो हुन्थ्यो । त्यसपछि आफ्नै गर्नुपर्छ कि भनेर आफ्नै पसल शुरु गरे । आफ्नो भएपछि सहज हुँदो रहेछ ।’ विवाह, इन्गेजमेन्ट, पार्टी लगायतको मेकअप गर्दै आउनुभएकी नाउँले सिजनमा राम्रो आम्दानी हुने गरेको बताउनुभयो । ‘आर्थिक अवस्थाका कारण केही गाह्रो भएपनि पछि राम्रो हुन्छ भनेर धैर्यधारण गरेको छु ।’
व्यवसायबाट हुने आम्दानीको केही रकम बचत गरेर व्यवसायलाई नै बिस्तारै ठुलो बनाउँदै जानुभएको छ भने जीविकोपार्जनमा समेत व्यवसायले मद्दत पुर्याएको उहाँले बताउनुभयो ।
यसैगरी नेपालगञ्ज-१२ की रिताले पनि संचालन गरेको सानो व्यवसायललाई ठुलो बनाउन लागि पर्नुभएको छ । उहाँले शुरु गरेको सिलाई कटाईसंगै किराना पसल समेत शुरु गर्नुभएको छ । केही समयअघिसम्म रिताका श्रीमानले आफ्नो तलबी काम छोडेर श्रीमतीको काममा लाग्नुभएको छ ।
व्यवसाय शुरु गरेको केही महिनामा मै बचत गरेको रकमले पसलको र्याक बनाउनुभएको छ । भने अन्य सामाग्रीको जोहो गर्नुभएको छ । श्रीमानले सिलाई कटाईको काम गर्न थालेदेखि सहज बनाएको छ । सोही कमाइबाट केही रकम बचत समेत गर्दै आएको र बच्चालाई पढाउनेमा खर्च भइरहेको छ । शुरुमा गर्न सक्दिन भनेर व्यवसाय संचालन गर्न नचाहेपनि अन्ततह गरिएको व्यवसायले परिवारको जीविकोपार्जनलाई सहज बनाएको छ ।
यस्तै वडा नं-१२ कै सुरेन्द्र चिडिमारले आफ्नै वासिंग तथा मर्मत पसल शुरु गर्नुभएको छ । करिब ९ वर्ष अरुको शोरुममा काम गर्नुभएका सुरेन्द्रको सानो प्रयासबाट नै आफ्नै वासिंग तथा मर्मत व्यवसाय संचालन हुन सफल भएको छ । बेलासपुरमै संचालान गरिएको पसलले अरु कहाँ गरिएको कामपछिको पारिश्रमिकभन्दा राम्रो आम्दानी गर्न सफल भएको सुरेन्द्रले बताउनुभयो । सटर भाडाबापतको चार हजार कटाएर पहिला पारिश्रमिकका रुपमा पाउने पैसाभन्दा बढि नै कमाई हुने गरेको छ भने व्यवसायलाई राम्रो बनाउनका लागि केही सामानको समेत अभाव भएको छ ।
बिस्तारै कमाएर ति सामानहरुको परिपुर्ति गर्ने र व्यवसायलाई ठुलो बनाउने योजना रहेको सुरेन्द्रले बताउनुभयो । गरे के हुँदैन भन्ने कुरालाई सफल बनाउन नेपालगञ्जस्थित सामाजिक बिकास मंच (एसडिएफ) ले सहयोग गरेको थियो । थोरै भएपनि केही गर्न चाहने युवाहरुलाई आवश्यक पर्ने तालिम, ज्ञान सीप, तथा आफ्नै उद्यम शुरु गर्नका लागि यी युवाहरुलाई शुरुमा स्टार्टअप सर्पोटका रुपमा २८ हजार रुपैयासम्म सहयोग प्रदान गरेको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा संचालित पावर फोर एवाई परियोजनाले लघु उद्यम बिकास तालिम, शैक्षिक छात्रबृति लगायतका कार्यक्रममार्फत युवाहरुलाई स्वरोजगारमा सक्रिय बनाउन प्रेरित गरिरहेको मंचका अध्यक्ष चम्पसिंह थापाले जानकारी दिनुभयो । सानो सहयोगबाट आफ्नै व्यवसाय शुरु गरेका युवाहरुको सो कार्यको बिहीबार सरोकारवालाहरुले संयुक्त रुपमा अनुगमन गरेका छन् ।
यसका साथै नेपालगञ्ज-२१ की मा स्नेहा शेष तथा अपाङता सम्बन्धि समस्याको सामाना गरिरहनुभएका नेपालगञ्ज-१२ का जगतराम बर्माको घरमा निर्माण गरिएको शौचालयको अनुगमन गरिएको थियो । नेपालगञ्ज वडा नं-२ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, वडा नं-१२ का वडा अध्यक्ष तरुण बज्राचार्य, शिक्षा, कार्यपालिका सदस्य अमृत कुमारी सिंह, युवा तथा खेलकुद शाखा प्रमुख प्रमुख गोर्ख बहादुर थापा, नेपालगञ्जका सामाजिक बिकास शाखा प्रमुख कृष्ण प्रसाद जोशी, सेभ द चिल्ड्रेनकी परियोजना संयोजक फुल कुमारी चौधरी, मंचका सल्लाहकार घनश्याम उपाध्याय र परियोजना संयोजक राम श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।





