
नेपालगञ्ज । लुम्बिनी प्रदेशमै पहिलो जिल्लाका रुपमा बाँके जिल्ला पुर्ण खोप सुनिश्चितता घोषणा भएको छ । लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले एक कार्यक्रमको आयोजना गरेर जिल्लालाई प्रदेशमै पहिलो जिल्लाका रुपमा बाँकेलाई घोषणा गरिएको हो ।
आर्थिक वर्ष २०७९/०८० मा बाँकेका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपपछि प्रदेशले बिहीबार १२ वटै जिल्लामध्ये बाँके पहिलो पहिलो जिल्लाका रुपमा पुर्ण खोप सुनिश्चितता घोषणा गरेको हो ।
घोषणा सभालाई सम्बोधन गर्दे लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले बाँकेलाई मातृ तथा शिशु मृत्युदर कम गर्नका लागि सबै जना लाग्नुपर्ने बताउनुभयो । जसरी पूर्ण खोप अभियानलाई सफल भयो त्यसैगरी मृत्युदरमा कमि ल्याउन पनि सबैको सक्रियता भएर सम्भव रहेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार गम्भीर रहेको समेत बताउनुभयो । कार्यक्रममा बोल्दे वक्तले जिल्लामा यो अभियानको दिगोपनाका लागि नियमित लाग्नुपर्ने धारणा राखेका थिए ।
घोषणासभामा प्रदेश सांसदद्वय बादशाह कुर्मी र रत्न खत्री, स्वास्थ्य मन्त्रालयका सचिव डा.जनार्दन पन्थी, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद गिरी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकाय, खजुरा वडा नम्बर २ का वडा अध्यक्ष धनराम वली, जिल्ला समन्वय समितिकी उपसंयोजक सीता कार्की, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, बर्दियाका प्रमुख गोकर्ण गिरी लगायत उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक तथा जिल्ला खोप समन्वय समिति संयोजक समेत रहनुभएका ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा भएको घोषणासभा बाँकेका सम्पूर्ण पालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य स्वयंसेविका समेतको सहभागिता रहेको थियो । जिल्लामा खोपै नलगाएका २ सय ९० बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ५ सय १७ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकाले उमेर अनुसार पाउनुपर्ने १४ प्रकारका रोग विरुद्धको खोप पाइसकेकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । माघदेखि घरधुरी सर्वेक्षण सुरुवात भई ’खोज र खोप’ अभियान संचालन गरिएको थियो । डुडुवालाई बैशाख ८, जानकीलाई जेठ २१, खजुरालाई २५, कोहलपुरलाई २६, बैजनाथलाई २९, नरैनापुरलाई ३१, नेपालगन्जलाई ३२ र राप्तीसोनारीलाई असार ३ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो ।
बाँके २०७७ चैत्र ६ गते पूर्ण खोप जिल्ला घोषणा भएको थियो । पूर्ण खोप घोषणापछि प्रत्येक वर्ष खोप लगाउन छुटेका बालबालिकालाई खोजेर खोप दिई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुपर्दछ ।





