
सुर्खेत । सामाजिक ब्यवहार परिवर्तन तथा सञ्चार र मानव केन्द्रीत डिजाईन पद्धती सम्बन्धी तीन दिने तालिम सुर्खेतको बिरेन्द्रनगरमा शुरु भएको छ ।
युनिसेफ नेपालको सहयोग तथा बास नेपालको आयोजनामा बिरेन्द्रनगर नगरपालिका अन्तरगत स्वास्थ्यकर्मीहरुका लागि उक्त तालिम शुरु भएको हो ।
बास कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बिरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले ३ दिने तालिमले स्वास्थ्यकर्मीहरुको ब्यक्तिगत ब्यवहार र कार्यशैलीमा परिवर्तन ल्याउने विश्वास ब्यक्त गर्नुभयो ।
सामाजिक ब्यवहार परिवर्तन हरेक ब्यक्तिका लागि आवश्यक हुने भन्दै तालिम पश्चात कार्यशैलीमा केही परिवर्तन आउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नगरपालिका अन्तर्गत स्वास्थ्यकर्मीहरुका लागि योजना गरिएको क्षमता अभिबृद्धी तालिमको आयोजना गर्ने युनिसेफ नेपाल र बास नेपाललाई धन्यबाद ज्ञापन गर्दै तालिमको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
उद्घाटन सत्रमा बोल्दै युनिसेफ नेपालका प्रकाश आचार्यले स्वास्थ्य अन्तर्गत हुने कार्यमा सहकार्य गर्दै स्वास्थ्यको पहुँचबाट टाढा रहेका ब्यक्तिलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउन सहयोग गर्ने बताउनुभयो ।
उहाँले स्वास्थ्य सुचकहरु सुधार गर्न पहल तथा पैरबी गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । बास नेपालका कार्यक्रम प्रबन्धक हेमराज भट्टले स्वागत गरेको उद्घाटन सत्रमा धन्यबाद ज्ञापनसहित उद्घाटन सत्रको समापन बासका कर्णाली प्रदेश संयोजक शाहीले गर्नुभएको थियो ।
उद्घाटन सत्रको सञ्चालन बासका अधिकृत रबिन्द्र बोहराले गर्नुभएको थियो । उद्घाटन सत्रमा बिरेन्द्रनगर नगरपालिकाका उपप्रमुख खनाल, बिरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र देव गिरी, युनिसेफ नेपालका आचार्य, बास कर्णाली प्रदेश संयोजक शाही, उपसंयोजक जगत दल जनाला लगायतको उपस्थिति रहेको थियो ।
तीन दिने तालिमको पहिलो दिन सामाजिक ब्यवहार परिवर्तनका विभिन्न बिषयमा युनिसेफ नेपालका आचार्य र सिनियर जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले सहजिकरण गरिरहनुभएको छ । तालिममा बिरेन्द्रनगर नगरपालिका अन्तरगत २० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।
बासले युनिसेफ नेपालको सहयोगमा कर्णाली र सुदुरपश्चिम प्रदेशका १२ ओटा पालिकामा सामुदायिक संलग्नता र मानव केन्द्रीत दृष्टिकोणमार्फत सामाजिक र ब्यवहार परिवर्तन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।





