
काठमाण्डौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा भ्रष्टाचारको मुद्दामा ७६० जनालाई प्रतिवादी बनाएको छ ।
आयोगले प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/०८० मा दायर भएका १६२ वटा मुद्दामा ७६० जनालाई प्रतिवादी बनाइएको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यसमा एक जना विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी छन् । अन्य ३५५ जना राष्ट्रसेवक कर्मचारी, १७८ जना बिचौलिया एवं मतियार र २६६ जना निर्वाचितरमनोनित पदाधिकारीहरू छन् ।
४४२ जना प्रतिवादीले गैरकानुनी लाभहानी लिएको, ४६ जनाले घुस लिएको, १५० जनाले सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याएको र २९ जनाले गैरकानुनी सम्पत्ति आर्जन गरेका प्रतिवादीहरू छन् ।
त्यस्तै आठ जना नक्कली शैक्षिक प्रमाण-पत्र, ४६ जना राजस्व हिनामिना र विविध कसुरका ३९ प्रतिवादीविरूद्ध मुद्दा दायर भएको हो । उनीहरूको मुद्दा विशेष अदालतमा दायर गरी जम्मा एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ रुपैयाँ मागदाबी गरिएको प्रवक्ता दाहालले बताउनुभयो ।
अख्तियारले विशेष सूचनाको आधारमा स्टिङ अपरेशन पनि सञ्चालन गर्ने गरेको छ । जसबाट गएको आर्थिक वर्षमा अख्तियारले ३७ स्टिङ अपरेशन गरेको छ । जसबाट ४० जना राष्ट्रसेवक कर्मचारी, ६ जना बिचौलिया र ८ जना निर्वाचित पदाधिकारीहरू पक्राउ परेका हुन् ।
यस्तै आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा उजुरी र फर्छ्यौटको संख्या बढेको अख्तियारले जनाएको छ । आव ७८/८९ मा भ्रष्टाचारका २४ हजार ३३१ उजुरी परेकोमा १७ हजार १६९ मुद्दा फर्छ्यौट भएका थिए । गत वर्ष भने २७ हजार ५३० उजुरीमा १८ हजार २४५ उजुरी फर्छ्यौट भएका हुन् ।





