
नेपालगन्ज । बाँके जिल्ला खेलकुद बिकास समितिले प्रदेश परिषद कार्यालय नेपालगन्जमा लगाएकाे ताला मंगलबार खाेलिएकाे छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईकाे राेहबरमा साईट ईन्जिनियर चिरञ्जीवी लम्सालले गल्ती स्वीकारेपछि कार्यालयमा लागेकाे ताला खाेलिएकाे हाे ।
समस्या समाधानका लागि मंगलवार भएको छलफलमा इन्जिनियर लम्सालले आफूबाट गल्ती भएको स्वीकार्दै आगामी दिनमा यस्ता गतिविधी नदोहोऱ्याउने प्रतिबिद्वता जनाएपछि ताला खाेलिएकाे बाँके जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सन्दिपजंग शाहले जानकारी दिनुभयाे ।
अध्यक्ष शाहका अनुसार छलफलबाट रंगशालामा निर्माणाधिन सेन्थेटिक ट्र्याक निर्माणकाे क्रममा हालसम्म निर्माण कम्पनीलाई भुक्तानी भएको सम्पूर्ण बिल भरपाईको प्रतिलिपी उपलब्ध गराउने सहमति पनि भएकाे छ ।
बाँके समितिले एक वक्तव्य जारी गर्दै आगामी दिनमा कुनै पनि कर्मचारीहरुबाट खेलकुद क्षेत्रको विकासमा प्रतिकुल हुने गतिविधी भए गरेको पाइएमा वा दोहोरिएमा कडा कदम चाल्न बाध्य हुने समेत चेतावनी दिएकाे छ ।
साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा (प्रदेश खेलकुद परिषद्, लुम्बिनी) कार्यरत करार कर्मचारी लम्सालको गतिबिधी प्रतिकुल देखिएपछि तत्काल सच्चिन बाँके समितिले आग्रह गरेकाे थियाे ।
तर ईन्जिनियर लम्साल सच्चिनु भन्दा उल्टै बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शाहलाई मध्यरात फोन गरेर अभद्र व्यवहार प्रस्तुत गरेका थिए ।
घट्नापछि साईट ईन्जिनियरलाई कारबाही र निर्माण कामकाे जाँच हुनुपर्ने मागसहित बाँके समितिले मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिमा तालाबन्दी गरेकाे थियाे ।
यसका साथै परिषद सदस्य सचिवसहितकाे टाेलीले रंगशालामामा निमार्णधिन कामकाे अनुगमन तथा निरीक्षण गरेकाे छ ।





