
जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहले सात घरमा आगको लगाइदिएका छन् । गुठीचौर-४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहबाट आगजनी भएको हो ।
धिता र देपाल गाउँमा पनि यस्तो घटना भएको बताइएको छ । अज्ञात समूहले सडकमा रोकिराखिएको ट्र्याक्टरमा समेत आगो लगाएको छ । सबैभन्दा धेरै बाउली गाउँका कविदत्तको घरमा क्षति भएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो ।
आगो लागेको घरमा समयमै थाहा पाउँदा अधिकांश घर क्षति हुनबाट जोगिएका छन् । आगो लगाइएको कुरा थाहा पाउने बित्तिकै जिल्लाबाट प्रहरीको टोली खटाएको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो ।
‘के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको छ,’ उहाँले भन्नुभयो, प्रहरीलाई घटनाको जानकारी गए राति ११ बजेतिर आएको थियो । आगजनीबाट घरमा आंशिक क्षति भएका छन् । रासस





