
सुर्खेत । कर्णाली प्रदेश सभामा विद्युतसम्बन्धी विधेयक टेबुल गरिएको छ । मंगलबार बसेको दोस्रो अधिवेशन अन्तर्गत २८ औं बैठकमा कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल गरिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तर्फबाट मन्त्री कृष्ण बहादुर जिसीले प्रदेश सभा नियमावली, २०७९ को नियम १११ (३) बमोजिम संसदमा विधेयक टेबुल गर्नुभएको हो ।
प्रदेशस्तरमा उपलब्ध जलस्रोतको अधिकतम् प्रयोग गर्दै प्रदेशका नागरिकलाई गुणस्तरीय तथा भरपर्दो विद्युत सेवा उपलब्ध गराउनका लागि कानुन निर्माण गर्ने उद्देश्यका साथ उक्त विधेयक ल्याइएको मन्त्री जिसीले भन्नुभयो ।
‘प्रदेश स्तरमा उपलब्ध जलस्रोत लगायत नवीकरणीय तथा अन्य उर्जाका स्रोतहरूको दीगो रूपमा अधिकतम् र उचित परिचालनका माध्यमबाट विद्युत उत्पादन, प्रसारण र वितरणलाई प्रवर्द्धन गरी उपभोक्तालाई वातावरणमैत्री, स्वच्छ, नियमित, भरपर्दो, गुणस्तरीय, सुरक्षित तथा सर्वसुलभ रूपमा विद्युत सेवा उपलब्ध गराउनका लागि कानुनी व्यवस्था गर्न आवश्यक भएकाले यो विधेयक ल्याइएको उहाँले बताउनुभयो ।





