नेपालगञ्जका मेयर निस्किए सरसफाई कार्यको अनुगमनमा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट आज विहानै सडकमा निस्कनुभयो । मोर्निङ वाकको हुलियामा घरबाट निस्कनुभएका विष्ट त्रिभुवन चोकबाट सदरलाइन हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिको बाटो भएर भेरी अस्पताल पुग्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल संगसंगै चारबाहिनी चोकसम्म पुग्दै गर्दा उहाँहरुले सडकमा स्वास्थ्यजन्य फोहरसंगै सरसफाईको अवस्थाबारे अनुगमन गर्नुभएको थियो ।

“स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा मेडिकलहरुले लापर्वाही गरिरहेको पाएपछि हामीले निगरानी बढाएका छौं, स्वास्थ्यजन्य फोहर प्रशोधन केन्द्र नै सञ्चालन गरेर दैनिकरुपमा फोहर संकलन भइरहँदा पनि लापर्बाही गर्ने छुट कसैलाई छैन, भेरी अस्पताल अगाडि भेटिनुभएका विष्टले भन्नुभयो-“स्वच्छ, सफा र हरित नगर बनाउने अभियानका लागि हामी गम्भीर ढंगले लागेका छौं, सरोकारवालासंगसंगै हरेक नागरिकले आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी छ ।”सरसफाई फाँट हेरिरहेका कर्मचारी र सरसफाईकर्मीलाई खटनपटन गराउने टिम लिडरहरुलाई स्पष्ट निर्देशन दिँदै उहाँले काममा कुनै कम्प्रमाइज नहुने बताउनुभयो । “शतप्रतिशत काम चाहिन्छ, टालटुले हिसाबले हुँदैन, राम्रोसंग काम नगर्नेहरुलाई तुरुन्त फायर गर्नुस्, काममा कुनै कम्प्रमाइज हुँदैन, नगर सफा देखिनुपर्दछ,” विष्टले भन्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाईका लागि थुप्रो धनराशी खर्च गरिरहेको बताउँदै उहाँले सहर सफा देखिने गरी काम गर्न निर्देशन दिनुभयो । नगर प्रमुख विष्टले सरसफाईको अवस्था हेर्न निरन्तर अनुगमन गरिने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले स्वयं नागरिकमा इमान्दारिता, जागरुकता र जिम्मेवारीपन भए सफा र स्वच्छ नगर बनाउने उपमहानगरपालिकाको अभियान छिट्टै सार्थक हुने बताउनुभयो । नगरको सुन्दरता र स्वास्थ्यसंग जोडिएको संवेदनशील विषय भएकाले सबैको साझा प्रयासबाट स्वच्छ र सफा सहर निर्माणमा टेवा पुग्ने रिजालको विश्वास छ ।

Previous articleनेपालगञ्जका ११ हजारबढी सर्वसाधारण भूकम्पको उच्च जोखिममा
Next articleडुडुवामा बिपद् जोखिम व्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here