´कन्जक्टिभाइटिस एनिडो भाइरस` सङ्क्रमण फैलिएपछि नेपालगञ्ज र खजुराका विद्यालय बन्द

नेपालगन्ज । बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि नेपालगञ्ज र खजुराका सबै विद्यालय चार दिनका लागि बन्द गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले उपमहानगरका अधिकांश बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकोले त्यसलाई थप फैलिनबाट रोक्न नेपालगन्जका निजी र सामुदायिक सबै विद्यालय चार दिन बन्द गर्ने निर्णय गरिएको बताउनुभयाे ।

उहाँले बालबालिकामा आँखा पाक्ने सङ्क्रमण वृद्धि हुँदै गएकोले विद्यालयबाट नै अन्य बालबालिकामा पनि सर्ने सम्भावना रहेकोले बुधवारदेखि शुक्रबारसम्म बिदा दिने र शनिबार बिदा नै परेकोले चार दिन विद्यालय बन्द गर्ने निर्णय मङ्गलबार गरिएको बताउनुभयाे ।

‘कन्जक्टिभाइटिस एनिडो भाइरस’ बालबालिकामा फैलिन थालेपछि नगरका विभिन्न स्थानबाट अभिभावक र आम नागरिकले विद्यालय बन्द गर्न आग्रह गरेको पनि उपमहानगरको शिक्षा महाशाखाले जनाएको छ ।

यस्तै बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि खजुरा गाउँपालिकाको शिक्षा शाखाले पनि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पालिकाका सबै विद्यालयका विद्यार्थीमा आँखा पाक्ने सङ्क्रमण देखिएकोले शिक्षा शाखाले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको बताउनुभयाे ।

Previous articleनाईस अवार्ड-२०२३ बरिष्ठ पत्रकार झलक गैरैलाई प्रदान
Next articleसमावेशी प्यानलका ‘१७ स’ प्रतिबद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here