
नेपालगन्ज । नेपालमा यस वर्षको मनसुन १४ जुनमा भित्रिएको थियो । मनसुन मित्रिएको पहिलो साता पूर्वी नेपालमा अत्यधिक वर्षा भएको थियो भने तराई मधेश र पश्चिम नेपाल सुक्खा थियो ।
लामो समयसम्म खण्ड खण्डमा मात्र वर्षा भए पनि दुई दिनयता देशका अधिकांश भूभाग ओगट्ने गरी पहिलो पटक वर्षा भएको छ ।
यो वर्षासँगै आएको बाढी पहिरोमा परी देशभर चार जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएको गृह मन्त्रालय अन्तर्गतको आपतकालीन कार्यसन्चालन केन्द्रले जनाएको छ । यद्यपि क्षतिको विवरण संकलनको काम जारी छ ।
गत १२ घण्टाको अवधिमा बर्दियाको रम्भापुर केन्द्रमा सबैभन्दा बढी १०४ मिलिमिटर वर्षा भएको रेकर्ड छ । गएराति लुम्बिनी र गण्डकी प्रदेशको आकाशमा भारी वर्षा गराउने बादल जम्मा भएको थियो ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा लेखिए अनुसार आज पनि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।
मौसमविदहरुले २४ घण्टाको अवधिमा १० मिलिमिटरभन्दा कम वर्षा भएकोलाई ‘हल्का वर्षा’ र १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कमलाई ‘मध्यम वर्षा’ भन्ने गरेका छन् ।
यसैगरी ५० मिलिमिटर वा त्योभन्दा धेरै र १०० मिलिमिटरभन्दा कम वर्षालाई ‘भारी वर्षा’ भन्ने गरिएको छ । १०० मिलिमिटर वा त्योभन्दा धेरै र २०० मिलिमिटरभन्दा कम वर्षालाई ‘धेरै भारी’ र २०० मिलिमिटर वा त्योभन्दा बढी वर्षालाई ‘अति भारी वर्षा’ भन्ने गरेका छन् ।





