पश्चिममै पहिलो पटक मस्तिष्कको नसासम्बन्धी जटिल शल्यक्रिया सफल भएको दाबी

बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नर्सिङ होममा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्कको नसा सम्बन्धी दुर्लभ र जटिल शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन् ।

दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तश्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिन्छ । यस समस्याबाट पीडित दाङको दंगीशरण गाउँपालिकाकी ५३ वर्षीया खगा श्रेष्ठको न्युरोसर्जनद्वय डा.निरज घिमिरे र डा.सुवोध गौतमले पाँच घण्टा लगाएर शल्यक्रिया गर्नुभएको हो । यही साउन १४ गते शल्यक्रिया गरिएकी खगा साउन २८ गते अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

खगा यही साउन १४ गते घरमै बसिरहेको बेला एक्कासी टाउको दुखेर अचेत भएर लडेकी थियो । सोही दिन उहाँलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान हुँदै नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, नर्सिङ होमको इमरजेन्सी कक्षमा पुर्याइएको थियो । टाउकोको सिटीस्क्यान गर्दा दिमागको रक्त नली फुटेको (ब्रेन एन्यूरिज्म) समस्या पत्ता लागेपछि अप्रेशन गरिएको थियो ।

‘यो निकै जटिल र दुर्लभ केस थियो । यस्तो समस्या भएका बिरामीमा जतिसक्यो छिटो अप्रेशन गर्नुको विकल्प हुँदैन,’ न्यूरो सर्जन डा.निरज घिमिरेले भन्नुभयो, ‘हामीले पनि समय खेर नफाली अप्रेशन गर्यौं र सफल भयौं ।’ राम्रो टिमवर्कका कारण सफल शल्यक्रिया भएको बताउँदै उहाँले भन्नुभयो, ‘पश्चिम नेपालमा ब्रेन एन्यूरिज्मको बिरामीको शल्यक्रिया सफल भएको यो नै पहिलो केस हो ।’

चिकित्सकका अनुसार यस्ता बिरामीलाई दुई तरिकाले उपचार गरिन्छ । एउटा– टाउको पूरै खोलेर (क्लिपिङ) विधिबाट र अर्को– खुट्टाको नसाबाट तार छिराएर दिमागको फुटेको नसा बन्द गराउने विधिबाट । खगाको भने क्लिपिङ विधिबाट उपचार गरिएको थियो । बिरामीको जीवन जोखिममा पर्ने हुँदा क्लिपिङ पनि निकै जटिल मानिन्छ ।

‘ब्रेन एन्यूरिज्म’को समस्या भएका करिब ५० प्रतिशत बिरामीको समयमा अस्पताल नपुर्याउँदा र कतिपयको समयमै अस्पताल पुर्याए पनि उपचार जारी रहेको बेला र उपचारपछि पनि ज्यान जाने जोखिम रहन्छ । तर दाङकी खगा श्रेष्ठ सफल शल्यक्रियापछि केही दिन अस्पतालमै आराम गरेर घर फर्किनुभएको छ ।

‘बिरामीको ज्यान जोगाउनु पर्ने थियो र हामीलाई च्यालेन्ज पनि थियो,’ न्युरोसर्जन डा.गौतमले उपचारको क्षण सम्झिए, ‘हामीले रिस्क फ्याक्टरबारे बिरामीका आफन्तलाई भनेका थियौं । उहाँहरु बुझ्ने हुनुहुँदो रहेछ, हामीलाई अघि बढ्नुस् भनेपछि हौसला मिल्यो ।’

डा.गौतम काठमाडौंको वीर अस्पतालबाट र डा.घिमिरे भारतको दिल्लीस्थित जिबी पन्त अस्पतालबाट एम.सी.एच न्यूरोसर्जरी सकेर नेपालगञ्जमा कार्यरत हुनुुहुन्छ । उहाँहरुसँगै ऐनेस्थेसियोलोजिष्ट एसोसिएट प्रोफेसर डा.नविन रेग्मी, ऐनेस्थेसियोलोजिष्ट डा.कपिल पोखरेल, एसिस्टेन्ट डा.अनिशा घिमिरे, न्यूरोसर्जन एसिस्टेन्ट अर्सद खान तथा स्टाफ नर्स रोशनी बस्नेत र कमला वली शल्यक्रियामा संलग्न हुनुहुन्थ्यो ।

अप्रेशनको बेलामा बिरामीको प्रेसर बढाउन नपाइने भएकाले ऐनेस्थेसियोलोजिष्टको ठूलो भूमिका रहने एसोसिएट प्रोफेसर डा.नविन रेग्मीले बताउनुभयो । ‘ब्रेनमा यति सानो नसा हुन्छ कि माइक्रोस्कोपमा हेरेर अप्रेशन गर्नुपर्छ । एकपटक नसा फुटिसकेको बिरामीमा फेरि प्रेसर बढेर नसा फुट्यो भने बचाउन सकिँदैन । तर हामी यस्तो जोखिमका बीच सफल भएका छौं,’ उहाँले भन्नुभयो ।

अप्रेशन सकिएको केही घण्टापछि नै होस आएर खानपिन गर्न थाल्नुभएकी ५३ वर्षीया खगा श्रेष्ठले नयाँ जीवन पाएको अनुभूति भएको बताउनुभयो । ‘एक्कासी टाउको दुखेर अचेत भएछु, अहिले होसमा आउँदा पो थाहा भयो यति ठूलो समस्या रहेछ,’ उहाँले भन्नुभयो, ‘उपचारपछि नयाँ जीवन पाएँ ।’

न्यूरो सर्जन डा.गौतमका अनुसार चुरोट सेवन गर्ने र उच्च रक्तचापका बिरामीमा ब्रेन एन्यूरिज्मको जोखिम रहन्छ । तर ‘ब्रेन एन्यूरिज्म’का अधिकांश बिरामीमा पूर्व लक्षण देखिँदैन । कसैकसैले एक–दुई हप्ता अगाडि टाउको दुखेको अनुभव सुनाउँछन् । यदि नसा फुटिसकेको रहेछ भने बिरामीलाई असह्यै हुने गरी बेस्सरी टाउको दुख्ने र बेहोस् हुने हुन्छ ।

यदि टाउको दुख्यो भने सामान्य रुपमा नलिइ चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ । चिकित्सकको सल्लाहविना आफूखुसी दुखाइ कम गर्ने औषधि खाएमा बिरामीको अवस्था झन् जटिल हुने डा.गौतम बताउनुहुन्छ । चिकित्सकहरुले अस्पतालमा सीटी एनजीओग्राफी गरेर मस्तिष्कको अवस्था हेर्छन् । यदि नसा फुटेको पाइए अप्रेशन गरेर उपचार गरिन्छ ।

‘प्रायजसो यस खालको समस्या पत्ता नै नलागेर अधिकांश बिरामीहरुको मृत्यु हुने गर्दछ । रोग पत्ता लगाइहाले पनि प्रयाप्त स्रोत साधन र जनशक्ति अभावले बिरामीहरुको जीवन समाप्त हुन्छ,’ डा.गौतम भन्नुहन्छ, ‘सफल अप्रेशनपछि बिरामीको ज्यान जोगाउन सफल भयौं । बिरामी र बिरामीका आफन्तबाट स्याबासी पायौं । यसबाट उपचारमा अझ बढी प्रेरणा र ऊर्जा मिलेको छ ।’ अनलाईनखबरबाट साभार

Previous articleप्रजातान्त्रिक समूहमा मतदानको आग्रह गर्दै महिलाहरुको घरदैलो अभियान
Next articleरुसमा एक पेट्रोल पम्पमा आगलागी हुँदा १२ जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here