भागबन्डा नमिल्दा लुम्बिनी प्रदेश सरकार अपूर्ण

दाङ । सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा लुम्बिनी प्रदेश सरकारले तीन महिना बित्दा पनि पूर्णता पाउन सकेको छैन ।

गत वैशाख १४ गते लुम्बिनी प्रदेश सरकारको सत्ता सम्हालेका नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी हालको सात सदस्यीय मन्त्रिपरिषदलाई विस्तार गर्ने तयारीमा हुनुहुन्छ । तर आफ्नै पार्टीभित्रका आकांक्षीहरु धेरै भएकाले उहाँले निर्णय लिन सक्नुभएको छैन ।

सबै दललाई भागबन्डा मिलाउँदा मन्त्रालय थप्नुपर्ने अवस्था आउने र आलोचना हुने भन्दै उहाँले सुरुमा ७ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको थियो । मुख्यमन्त्री चौधरीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका साथै खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय आफैंले सम्हालिरहनुभएको छ ।

हाल लुम्बिनीमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री, नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री, लोसपाका सन्तोष कुमार पाण्डेय गृहमन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि मन्त्री, जनमतका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्री हुनुहन्छ ।

सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाउनुभएको लोसपाका नेता सन्तोषकुमार पाण्डेले भदौ १० अगाडि नै सरकारलाई पूर्णता दिने गरी गृहकार्य भइरहेको बताउनुभयो । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले पनि मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको जानकारी दिनुभयो ।

पूर्वसहमति अनुसार माओवादीले तीन जनाको नाम धनबहादुर मास्की, दिपेन्द्रकुमार पुनमगर र कृष्ण केसीको नाम सिफारिस गरेको थियो । त्यसअनुुसार मास्की अर्थमन्त्री बनिसक्नुभएको छ । माओवादीले थप दुई मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ ।

तर कांग्रेसले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहेको माओवादी नेता इन्द्रजित चौधरीले बताउनुभयो ।

Previous articleनेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतगणना कार्य शुरु
Next articleनेपालगन्जका स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा गोष्ठी सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here