
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समिक्षा गोष्ठी आजदेखि नेपालगन्जमा सुरु भएको छ । आर्थिक वर्ष २०७९-८० को दुई दिने समिक्षा गोष्ठीको उपप्रमुख कमरुद्दिन राईले उद्घाटन गर्नुभयाे ।
२३ वटै वडाका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी र वडा अध्यक्षहरुको उपस्थितिमा सुरु भएको गोष्ठीलाई सम्बोधन गर्दै उपप्रमुख राईले नागरिकले सन्तुष्टि अनुभूति गर्ने गरी काम हुन सके मात्र सेवा प्रवाहको औचित्य पुष्टि हुने बताउनभयाे ।
विभिन्न महामारी र प्रकोपका बेला स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुले उत्कृष्ट काम गरेको स्मरण गर्दै राईले सेवा प्रवाहलाई अझ जनमुखी र नागरिकमैत्री बनाउन विगतको गम्भीर समिक्षा गर्नुपर्नेमा जोड दिनुभयाे ।
उहाँले स्वास्थ्य अत्यन्तै संवेदनशील क्षेत्र भएकाले सानो हेल्चक्राइँले ठूलो समस्या निम्तिन सक्ने भन्दै सबै सचेत बन्नुपर्ने बताउनुभयाे ।
बार्षिक समिक्षाले विगतको मूल्यांकन गर्दै भावी रणनीति तय गर्न सहयोग गर्ने भन्दै उहाँले यथार्थ चित्रण भए मात्र अगाडिको बाटो तय गर्न सजिलो हुने उल्लेख गर्नुभयाे ।
उद्घाटन कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बार्षिक प्रगति समिक्षा गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नुभएकाे थियाे ।
चन्दले कार्यक्रमहरुको समिक्षा एवम् विश्लेषण गरी त्रुटीहरु सच्याउने, राष्ट्रिय प्राथमिक प्राप्त कार्यक्रमहरुको लेखाजोखा गरी भावी कार्ययोजना निर्माण गर्ने, उपलब्धि तथा आइपरेका समस्याहरुको तुलनात्मक अध्ययन एवम् विश्लेषण गर्ने, चालू आर्थिक वर्षको लागि कार्ययोजना निर्माण गर्ने, उत्कृष्ट स्वास्थ्य संस्था छनौट गर्ने, धरातलीय यथार्थ विश्लेषण गरी भावी रणनीति बनाउने लगायतका उद्देश्य राखेर बार्षिक समिक्षा गोष्ठी आयोजना गरिएको बताउनुभयाे ।
जिल्ला स्वास्थ्य कार्यालयका खोप निरीक्षक जनकराज गिरीले बार्षिक समिक्षाले आगामी कार्ययोजना तय गर्न सहज हुने बताउनुभयाे ।
गोष्ठी उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, नगर प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द रेग्मी लगायत उपस्थित थिए । उद्घाटन सत्रको संचालन जनस्वास्थ्य निरीक्षक राजन शाहीले गर्नुभएकाे थियाे ।
गोष्ठीमा २३ वटै वडाका स्वास्थ्य प्रमुखहरुले आ-आफ्नो वडाको स्वास्थ्य सूचकांकको अवस्था, प्रगति विवरण, समस्या, चुनौतीबारे रिपोर्टिङ गरिरहेको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयाे । गोष्ठीमा जिआइजेडले प्राविधिक सहयोग गरेको छ ।





