
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटा वडाका स्वास्थ्य संस्थाहरुमध्ये परसपुर स्वास्थ्य चौकी प्रथम भएको छ ।
उपमहानगरपालिकाले आयोजना गरेको दुई दिने स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगति समीक्षा गोष्ठीमा परसपुर स्वास्थ्य चौकीलाई पुरस्कृत गरिएको हो ।
नेपालगमञ्जका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षामा प्रथम भएको परसपुर स्वास्थ्य चौकीकी इन्चार्ज दिपा साउदलाई पुरस्कृत गर्नुभयाे ।
यससँगै वडा नं-१३ को उदयपुर स्वास्थ्य चौकी द्वितीय र वडा नं-६ को शहरी स्वास्थ्य आधारभूत सेवा केन्द्र तृतीय भएका छन् ।
उदयपुर स्वास्थ्य चौकीका इन्चार्ज बीरजंग शाह र वडा नं-६ को सेवा केन्द्रका इन्चार्ज नवराज न्यौपानेलाई पनि पुरस्कृत गरिएको जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयाे ।
समीक्षा गोष्ठीको समापन गर्दै मेयर विष्टले स्वास्थ्यकर्मीले महामारी र अन्य बेलामा गरेको कामको सराहना गर्दै दुई दिनसम्म केलाएका राम्रा पक्षलाई थप राम्रो बनाउन र समस्यालाई समाधान गर्दै लैजान आग्रह गर्नुभयाे ।
नगर प्रमुख विष्टले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई उत्कृष्ट सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयाे । उहाँले काम गर्ने क्रममा आउने समस्याहरु तत्काल अवगत गराउन समेत आग्रह गर्नुभयाे ।
कार्यपालिका सदस्य बसन्त कनोजिया, स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्द, स्वास्थ्य कार्यालयकी दुर्गा गौतम, मनिकापुर स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश श्रेष्ठ, जीआइजेडका कार्यक्रम संयोजक सुभाष नेपाल लगायतले गोष्ठीमा प्रस्तुत तथ्यांकलाई हेरेर आगामी बर्षका योजनाहरु बनाएर अघि बढ्नुपर्ने बताउनुभयाे । समापन कार्यक्रमको संचालन जनस्वास्थ्य निरीक्षक राजन शाहीले गर्नुभएकाे थियाे ।





