नेपालगन्जमा रहेका छाडा गाई-गाेरू कान्जीहाउस लगिंदै

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस लैजान थालेको छ ।

बजार क्षेत्रमा छाडारुपमा छोडिएका ७ दर्जन गाई-गोरु र घोडा-खच्चडलाई शनिबार विहान वडा नम्बर-२१ विर्तास्थित कान्जीहाउसमा लगिएको  छ ।

बजारमा छाडा पशुचौपायाको संख्या बढ्दै जाँदा दुर्घटना हुन थालेपछि ५० वटा गाई-गोरु र ३२ वटा घोडा-खच्चडलाई कान्जीहाउस पुर्याइएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताउनुभयो ।

नगरका विभिन्न भागमा छरिएर रहेको छाडा पशुचौपायालाई एकिकृत गरेर एकसाथ कान्जीहाउस पुर्याइएको थियो । नगर प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरीको टोलीले छाडा पशुचौपायालाई कान्जीहाउस पुर्याएको हो ।

त्यसक्रममा प्रहरी तालिम केन्द्रका प्रहरी जवानहरुले विशेष भूमिका निभाएका थिए । छाडा पशुचौपायालाई कान्जीहाउस लैजाने क्रममा नगर प्रमुख प्रशान्त विष्ट पनि संगसंगै पुग्नुभएको थियो ।

कान्जीहाउस पुगेर नगर प्रमुख विष्टले त्यहाँको अवस्थाबारे जानकारी समेत लिनुभएको छ । नगर प्रमुख विष्टले कान्जीहाउसका कर्मचारीलाई पशुचौपायाहरुको राम्रोसंग रेखदेख गर्न निर्देशन दिनुभयो ।

उहाँले पशुचौपायाको खानपिनमा पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो । आज आईतवार कान्जीहाउसमा पशु स्वास्थ्य शिविर राखेर पशुहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइने विष्टले बताउनुभयो ।

त्यसका लागि पशु शाखालाई निर्देशन दिइसकिएको उहाँको भनाई छ । छाडा पशुचौपायाका दीर्घकालीन व्यवस्थापनका लागि नेपालगञ्ज उपहानगरपालिकाले राप्तीसोनारी गाउँपालिकासंग समन्वय र सहकार्य गरेर काम गरिरहेको छ ।

नगर प्रमुख विष्टसंगै प्रबक्ता एवम् वडा नम्बर-१ का वडा अध्यक्ष प्रमोद रिजाल, नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला लगायत कान्जीहाउस पुग्नुभएको थियो ।

पशुधनीले नै जथाभावीरुपमा घोडा-खच्चड र गाई-गोरु छोड्दा छाडा पशुचौपाया नियन्त्रणमा कठिनाई भइरहेको छ । कान्जीहाउस पुर्याएका आफ्ना जनावर लिन पुग्ने पशुधनीहरुले जरिवाना तिर्नुपर्ने हुन्छ ।

उनीहरुलाई अब उप्रान्त पशुचौपाया छाडा नछोड्ने लिखित प्रतिबद्धता गरेर मात्र बस्तुभाउ फिर्ता गरिने नगर प्रहरी प्रमुख बोगटीले बताउनुभयो ।

Previous articleयाेग अभ्यासी १ सय १२ जना दिक्षित
Next articleबाँकेमा चित्तलकाे मासुसहित एक जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here