
बाँके । यो पटकको तिहारमा देउसी भैलो खेल्न नपाईने भएको छ । देउसी भैलो खेल्दा भीडभाड बढि हुने भएको भन्दै यो पटक देउसी भैलो खेल्न रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै यो पटक देउसी भैलो नखेल्न अनुरोध गरेको छ । प्रशासन यसरी गरिएको अनुरोधको बिरुद्धमा गएर खेलेको पाइएमा कारवाही गर्ने समेत चेतावनी दिएको छ ।
यसका साथै दशैं पर्वको अवसरमा गरिने शुभकामना आदान प्रदान कार्यक्रममा समेत रोक लगाइएको छ । यस्तै कुनै पनि राजनीतिक दल, संघ संस्था भेला भइ गरिने क्रियाकलापमा समेत रोक लगाइएको प्रशासनको सूचनामा उल्लेख छ । पत्रमा चार्डपर्वको अवसर पारेर कुनै राजनीतिक दल, संघ, संस्था, समूह तथा संजालहरुले भेला भइ गरिने शुभकामना आदान प्रदान, देउसी भैलो, खेलकुद लगायतका क्रियाकलाप संचालन नगर्न अनुरोध गरिएको छ ।
साथै प्रशासनले जारी गरिएका निर्णयको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई प्रचलित कानून अनुसार कारवाही हुने चेतावनी दिएको छ । भेला, सभा, शुभकामना आदान प्रदान तथा देउसी भैलो खेल्दा कोरोना संक्रमण बढ्न सक्ने सम्भावना बढि हुन्छ । 





