
नेपालगञ्ज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले बिभिन्न व्यक्तिहरुलाई स्वागत एवं सम्मान गरेको छ । मंगलबार आफ्नै कार्यालयमा एक समारोहकाबीच बाँकेका बिभिन्न संस्थामा निर्वाचित भएका तथा बिभिन्न जिम्मेवारीमा आगन्तुक भएकालाई स्वागत एवं सम्मान गरेको हो ।
सेवा केन्द्रले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको जिम्मेवारी सम्हाल्नुभएका प्रमुख एवं प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदी, जिल्ला प्रहरी प्रहरी निरीक्षक निरन्जन घिमिरे, वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसी, नेपालगञ्ज उद्योग वाणिज्य संघको हालै निर्वाचनबाट कोषाध्यक्ष पदमा निर्वाचित मख्खन बहादुर धामी, सदस्य कृष्ण गुरुङ र बस्तुगततर्फका सदस्य बिनय श्रेष्ठ र कशौधन बैश्य समाज बाँकेको अध्यक्षमा निर्वाचित सन्तोष कुमार बैश्यलाई स्वागत एवं सम्मान प्रदान गरेको छ ।
सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचित व्यक्तित्व तथा आगन्तुकलाई अबिर माला तथा खादाले स्वागत एवं सम्मान गरिएको थियो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाले स्वागत गर्नुभएको थियो ।
सो अवसरमा निर्वाचित तथा आगन्तुकले पाएको जिम्मेवारीलाई सफलतापूवर्क सम्पन्नको कामना गरिएको थियो । साथै प्रहरीले जिल्लामा शान्ति सुरक्षामा बिशेष ध्यान पुर्याउन सक्रिय रहिरहन पनि सुझाव प्रस्तुत गरिएको थियो भने बिद्यमान यातायात व्यवस्थापन समस्या, बिभिन्न क्षेत्रमा देखिएका उत्श्रृंखल गतिबिधि, लागुऔषध जस्ता बिषयमा कडाईका साथ प्रस्तुत हुन पनि आग्रह गरिएको थियो ।





